भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित गर्न प्रजिअको पहल

भक्तपुर, पुस १९
भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित गर्न पहल थालिएको छ । जिल्ला यातायात व्यवस्थापन समितिले सोमवार सरोकारवालाहरुसँग छलफल गर्दै जिल्लामा सार्वजनिक यातायातलाई व्यस्थित गर्ने पहल गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको समितिको बैठकले सार्वजनिक यातायातलाई व्यस्थित गर्न पार्किङको व्यवस्था, निर्धारित रुट र समयमा बस सञ्चालन गर्ने, सडकमा ट्राफिक संकेत र बत्तिको व्यवस्था गर्ने, सडकका खाल्डाखुल्डी पुर्ने लगायतका विषयमा आवश्यक निर्णय गरी सार्वजनिक यातायातलाई व्यस्थित गर्ने पहलको थालनी गरिएको हो ।
बैठकले सडक डिभिजन कार्यालय र सम्बन्धित सडक सुधार आयोजनाले सडकको खाल्डाखुल्डी पुर्ने, चोक तथा जक्सनमा ट्राफिक लाइटको व्यवस्था गर्ने, सडक संकेत बोर्डको व्यवस्था गर्ने, चोक चोकमा जेब्रा क्रसिङ तथा सडक मार्किङ्गको कार्य गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो ।
त्यसैगरी सडकमा जथाभावी निर्माण सामाग्री राख्न र सडक पेटीमा व्यापार व्यवसाय संचालन नगर्ने व्यवस्थाका लागि निर्माण व्यवसायी, भक्तपुर उद्योग बाणिज्य संघ र भक्तपुर चेम्बर अफ कमर्सले पहल गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले यातायात व्यवसायीले बाटोको इजाजत लिई निर्धारित रुटमा सवारी साधनहरु निर्वाध सञ्चालन गर्ने, सडक लेन अनुशासन, ट्राफिक नियम पालना लगायतमा चालक सहचालकलाई अन्तरक्रियात्मक कार्यक्रम सम्बन्धित यातायात समितिले मिलाउने, समय समयमा यान्त्रिक चेकजाँचको व्यवस्था यातायात व्यवसायी र यातायात व्यवस्था कार्यालयले गर्ने, असहाय, जेष्ठ नागरिक र विद्यार्थीलाई नियमानुसार भाडामा छुट दिने, ओभर लोड नराख्ने, निर्धारित स्थानमा यात्रु चढाउने र ओराल्ने व्यवस्था व्यवसायीले गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी उचित स्थानमा पार्किङ्गको व्यवस्था, फुटपाथ पसलको व्यवस्था, साना भित्री सडकमा बत्तीको व्यवस्थाका लागि नगरपालिकालाई अनुरोध गर्ने, सडकको सर्भिसलेनको मर्मत तथा पीच गरी सुचारु राख्ने व्यवस्था सडक आयोजनाले गर्ने, प्रचलित कानून विपरीत सञ्चालन हुने सवारी साधनको नियन्त्रण तथा आवश्यक कारवाही महानगरीय प्रहरी तथा ट्राफिक कार्यालयले गर्ने भएको छ ।
यात्रुको चाप र सवारीको संख्या हेरी कुनै स्थानमा यातायात सेवा सञ्चालन गर्नुपर्ने भए यातायात व्यवसायीले जिल्ला यातायात व्यवस्थापन समितिमा पेश गर्ने र यसको लागि समन्वय गर्न नगरपालिकाहरुलाई अनुरोध गर्ने समेत निर्णय भएको सहायक प्रजिअ परियारले बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय प्रमुख, नगर प्रमुख तथा उपप्रमुख, नगरपालिकाका प्रशासकीय अधिकृतहरू, सडक आयोजना प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, यातायात, ट्रक तथा टिपर व्यवसायीहरु, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, नागरिक समाज तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
बैठकमा सहभागीहरुले सरकारी नियमले यातायात व्यवसायी मर्कामा परेको, जिल्लाका ग्रामिण भेगमा सार्वजनिक यातायात सञ्चालन नहुँदा सर्वसाधारणलाई आवागमनमा समस्या भएको, पार्किङको उचित व्यवस्था हुनुपर्ने, सडकको अवस्था सुधार गर्नुपर्ने, ट्राफिक संकेत र सडक बत्तिको व्यवस्था हुनुपर्ने, निर्धारित रुट र समयमा नियमित बस सञ्चालन हुनुपर्ने लगायतका विषयमा धारणा राखेका थिए ।