चाँगुनारायण नगरपालिकाको राजश्व संकलन १२ प्रतिशत

भक्तपुर, पुस १८
चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखी पुस १५ सम्म ६ करोड ९६ लाख ४७ हजार ७९० रुपैयाँ मात्र राजश्व गरेको छ । नगरको आइतवार शुरु भएको दशौं नगरसभामा उपप्रमुख विणा बास्तोलाले चालु आर्थिक वर्ष २०७८÷७९ को समिक्षात्मक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आ. व.मा २८ करोड ८४ लाख ५ हजार आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको चाँगुनारायणले पहिलो साढे पाँच महिनामा १२ दशमलव १५ प्रतिशत मात्र राजश्व संकलन गरेको जानकारी दिनुभएको हो ।
सभामा उपप्रमुख बास्तोलाले नगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको मेयर उद्यमशीलता विकास कार्यक्रममा हालसम्म ७३ जना सहभागी भई सहुलियतपूर्ण ऋण लिएको र २७ जना कर्जा प्राप्तिका लागि अन्तिम चरणमा पुगेको बताउनुभयो ।
यसैगरी गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत् १२ जना महिलाहरुलाई ५ दिने आधारभूत साबुन बनाउने तालिम, १८ जना महिलाहरुलाई अचार बनाउने तालिम दिइएको उल्लेख गर्दै नगर उपप्रमुख बास्तोलाले महिला उद्यमशीलता कार्यक्रम अन्तर्गत मखमली जुत्ता बनाउने, कम्प्युटर, आधारभूत मन्टेश्वरी र एडभान्स मन्टेश्वरी तालिम सम्पन्न भएको जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार विकास अन्तर्गत कूल ४८६ वटा योजना रहेकोमा १५७ वटा योजना गत आर्थिक वर्षबाट दायित्व सरेर आएको बताउँदैं उहाँले चालु आर्थिक वर्ष २० लाख भन्दा बढीका ३९ वटा योजना रहेकोमा २३ वटा योजनाको ठेक्का सम्झौता भएको जानकारी दिनुभयो । उहाँले सिलाई कटाई तालिम र बेतबाँसको सामग्री तालिम चालु रहेको बताउनुभयो ।
बालमैत्री स्थानीय शासनअन्तर्गत नीतिगत कार्यान्वयनका लागि अबलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखकीरण, बालमैत्री वडा सहजकर्ताहरुको नियुक्ति, बालमैत्री सहजकर्ताहरुलाई क्षमता विकास प्रशिक्षण भएको उल्लेख गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन घोषणा र दिगोपनाका लागि २६२ वटा बाल समूह गठन, १० वटा बाल सञ्जाल गठन भएको जानकारी दिनुभयो । ‘नगरपालिकाको ९ वटै वडामा बालमैत्री कक्षा व्यवस्थापन गरी ३०० सार्वजनिक स्थलहरुमा बालमैत्री आचारसंहिता, साबधान बोर्ड, बालश्रमविरुद्धको पम्प्लेट राखिएको छ,’ उहाँले भन्नुभयो, ‘सो कार्यक्रमका लागि ९८ लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म २२ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ ।’
सभामा चाँगुनारायण नगरपालिकाको कर्मचारी समायोजन ऐन २०७८, विनियोजन ऐन २०७८ पेश भएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।