बागमती प्रदेशस्तरीय मानव अधिकार र पत्रकारिता तालिम भक्तपुरमा शुरु

भक्तपुर, पुस १८
मानव अधिकार र पत्रकारिता सम्बन्धी बागमती प्रदेश स्तरिय तीन दिवसीय आवासीय तालिम आइतवारदेखी भक्तपुरमा शुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयले आयोजना गरेको सो तालिममा बागमती प्रदेशका १३ जिल्लाका करिव ३५ जना पत्रकारहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै आयोगका अध्यक्ष तप बहादुर मगरले पत्रकार पनि मानव अधिकार रक्षक भएकाले संवेदनशील भएर पत्रकारिता गर्न आग्रह गर्नुभयो । उहाँले समाजका विकृति र विसंगतिलाई न्यूनीकरण गर्न मानव अधिकार रक्षा हुने गरि समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानवअधिकारको रक्षाले नै समाजलाई सबल र सुदृढ गर्न सकिने भएकाले मानव अधिकार रक्षाका फ्रन्टलाइनर पत्रकारको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा आयोगका कामु सचिव मुरारीप्रसाद खरेलले तालिमले पुर्नताजगी गर्ने उल्लेख गर्दै तालिमले मानव अधिकारलाई केन्द्रमा राखी पत्रकारिता गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमले मानव अधिकारको विषयलाई सहज बनाउने जनाउँदै मानव अधिकारको रक्षाका लागि पनि पत्रकारिता जरूरी रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले मानव अधिकार र पत्रकारिताबीच अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गर्दै मानव समाजको विकास क्रमसँगै मानव अधिकार संस्थागत हुँदै गइरहेको बताउनुभयो । उहाँले पत्रकारिता मार्फत मानव अधिकारलाई सुदृढीकरण गर्न सकिने भएकाले पत्रकारहरूले त्यसका लागि ज्ञान लिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले मानवका सबै प्रकारका अधिकारको संगोला मानव अधिकार भएको बताउँदैं तालिमले पत्रकारहरुलाई थप सिर्जनशिल र क्षमतावान बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाण्डौंका अध्यक्ष सूर्य सुवेदी, आयोगका लोकनाथ घिमिरेले मानवअधिकार र पत्रकारिताको सम्बन्ध बारे चर्चा गर्नुभयो ।