जिल्ला प्रशासनका सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परामर्श

भक्तपुर, पुस १८
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आइतवार आएका सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परामर्श प्रदान गरिएको छ । जिल्ला प्रशासनको आयोजना र भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र गरी तीन वटा अस्पतालको सहआयोजनामा प्रशासनमा आएका सेवाग्राहीलाई क्यान्सर, मिर्गौलालगायतका नसर्ने रोगको बारेमा निःशुल्क परामर्श प्रदान गरिएको हो ।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर रोग लाग्नुका कारण, सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा पार्ने असरलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो । त्यसैगरी प्रत्यारोपण केन्द्रले मिर्गौला रोग लाग्नुको कारण र रोकथामका उपायका बारेमा जानकारी प्रदान गरिएको थियो भने भक्तपुर अस्पतालले सेवाग्राहीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।
सो अवसरमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले सेवाग्राहीलाई सरसफाई किट वितरण गरेको थियो । रेडक्रसले आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना सेवाग्राहीले स्वतःस्फुर्तरुपमा रक्तदान गरेको प्रशासनले जनाएको छ । त्यसैगरी प्रत्यारोपण केन्द्रको अंगदान केन्द्रमा ५ जनाले मरणोपरान्त ५ जनाले अंगदान गर्ने घोषणा गरेको थियो ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारीले सर्ने रोगले भन्दा नसर्ने रोगको प्रकोप बढ्दै गईरहेको सन्दर्भमा जनचेतनाका लागि प्रशासनका सेवाग्राहीलाई मिर्गौला, क्यान्सर जस्ता रोगका बारेमा परामर्श प्रदान गरिएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रम पालिकास्तरमा र सेवाग्राहीको बढी भिडभाड हुने कार्यालयमा पनि बिस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
प्रत्यारोपण केन्द्रका डा. कल्पना श्रेष्ठले नेपालमा मिर्गौला रोगको अवस्थाका बारेमा जानकारी दिँदैं यसको रोकथाम र न्यूनिकरणका लागि स्थानीय स्तरमा जनचेतना फैलाउनुपर्ने खाँचो औंल्याउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका प्रा. डा. विष्णुदत्त पौडेलले अधिकांश क्यान्सरको प्रमुख कारकतत्वको रुपमा रहेको सुर्तीजन्य पदार्थको सेवन कमी ल्याउन सुर्तीजन्य पदार्थ सम्बन्धी ऐनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कम्तीमा स्वास्थ्य संस्था, शिक्षण संस्था र मठमन्दिरको एक सय मिटर दुरीमा सुर्तीजन्य पदार्थको विक्रि वितरणमा रोक लगाउनुपर्ने बताउनुभयो ।
भक्तपुर अस्पतालकी मेसु डा. सुमित्रा गौतमले भक्तपुर अस्पताल विशेषज्ञ अस्पतालको रुपमा विकास भएको जानकारी दिँदैं एउटै हाताका भक्तपुर क्यान्सर अस्पताल, प्रत्यारोपण केन्द्रलाई समायोजन गरी प्रतिष्ठानको रुपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो ।