सिद्धिकाली मन्दिरका दाता सम्मानित

भक्तपुर, पुस १८
मध्यपुर थिमिस्थित श्री सिद्धिकाली क्षेत्र संरक्षण तथा विकास समितिले मन्दिरको गजुर र तल्लो छानामा सुनको जलप लगाउन सहयोग गर्ने दाताहरुलाई शनिवार सम्मान गरेको छ । समितिको १२ औं वार्षिक साधारणसभा तथा चौंथो कार्यसमिति निर्वाचन कार्यक्रममा बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल र मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले दाताहरुलाई दोसल्ला ओढाई कदरपत्रद्धारा सम्मान गर्नुभएको हो ।
सो अवसरमा मन्त्री भँडेलले समितिको कामको प्रशंसा गर्दै मठमन्दिरको संरक्षणले कला सँस्कृतिलाई जिवन्त राख्ने बताउनुभयो । उहाँले काठमाण्डौं उपत्यकाको कला सँस्कृति मौलिक खालको र छुट्टै पहिचान भएकोले यसको संरक्षणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रा पुर्खाले सिर्जना गरेका मठ मन्दिर, विविध कला सँस्कृति हाम्रा शान हुन । यसलाई संरक्षण गरेर भावी पुस्तामा पुस्तान्तरण गर्ने दायित्व हाम्रो हो,’ उहाँले भन्नुभयो ।


कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कला सँस्कृति, ऐतिहासिक सम्पदा र मठमन्दिरको संरक्षण, पुनःनिर्माणमा नगरपालिकाले विषेश प्राथमिकताका साथ कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँले यहाँको मुर्त अमुर्त कला सँस्कृतिको जगेर्ना र पुर्नउत्थान गर्ने क्रममा महाकाली, भैल, सलँचालगायतका विभिन्न ऐतिहासिक प्याखँ पुनः सञ्चालन सफल भएको स्मरण गराउनुभयो । उहाँले सिद्धिकाली क्षेत्रको संरक्षण र विकासमा नगरपालिकाले निरन्तर सहयोग गरिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. ६ का वडाअध्यक्ष ईन्द्रबहादुर प्रजापति, समितिका सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठ, गणेशराम प्रजापतिलगायतका वक्ताहरुले सिद्धिकाली क्षेत्रमा भइरहेको अतिक्रमलाई रोकेर थप संरक्षण र विकासका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।


सो अवसरमा मन्दिरको गजुर र छानामा सुनको जलप लगाउन आर्थिक सहयोग गर्ने दाताहरुको शिलापत्र समेत अनावरण गरिएको थियो । समितिले गत आर्थिक वर्ष एक करोड ९० लाख ८३ हजार ५२३ रुपैंयाँको लागतमा मन्दिरको गजुर र तल्लो छानामा सुनको जलप लगाएको थियो । त्यसका लागि मध्यपुर थिमि नगरपालिकाले पटक पटक गरी एक करोड ८० लाख ९० हजार ३३९ रुपैंया र विभिन्न दाताहरुबाट ४३ लाख ७८ हजार ३७ रुपैंया बराबरको नगद तथा सुन सहयोग गरेको समितिका कोषाध्यक्ष हिरामान शंखदेवले जानकारी दिनुभयो ।
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष दिलकृष्ण प्रजापतिले सिद्धिकाली क्षेत्रमा वनभोज गर्ने, पुजापाठ गरेर भोज भतेर गर्ने र आन्तरिक पर्यटकको समेत बृद्धि हुँदैं गईरहेकोले खानेपानीको समस्या रहेको बताउनुभयो । उहाँले खानेपानीको समस्या समाधानका लागि डिप बोरिङलगायतको विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो ।


उहाँले सिद्धिकाली परिसरमा ढुंगा छाप्ने कार्य शुरु भएको, सिद्धिकाली मुलढोकादेखी मन्दिरसम्मको बाटोमा हरियालीसहितको ढुंगा छाप्ने कार्य सम्पन्न भएको, कुटुङ्ग डाँडाको संरक्षणका लागि पर्खाल लगाउने कार्य सम्पन्न भएको, कार्यालय व्यवस्थापन गरेको जानकारी दिनुभयो ।
समितिका सचिव श्रीराम चक्रधरले चालु आर्थिक वर्ष २०७८÷०७९ मा कुटुङ्ग डाँडामा सञ्जिवनी पार्क, सरस्वती मन्दिर परिसरमा ढुंगा बिछ्याउने, ज्येष्ठ नागरिक दिवा सेवा भवन निर्माण, भिमसेन मन्दिर जाने बाटो निर्माणको काम अगाडि बढेको जानकारी दिँदैं पिण्ड तर्पण गर्ने ठाउँ, मन्दिर अघिको मुल पाटी पुनःनिर्माणलगायतको कार्य गर्ने लक्ष्य रहेको बताउनुभयो ।