सिपाडोलमा पर्ती जग्गाबाट माटो निकासी – स्थानीय समाजको विरोध

भक्तपुर, पुस १४
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ साविक सिपाडोल गाविस ४ लगायत विभिन्न स्थानमा अनाधिकृतरुपमा सार्वजनिक पर्ती जग्गाबाट माटो निकासी भइरहेको भन्दै ती कार्य तत्काल रोक्न स्थानीय बैभवेश्वर टोल सुधार समाजले मंगलवार एक सूचना जारी गरी माग गरेको छ ।
समाजका कार्यबहाक अध्यक्ष विश्वराम थापाले जारी गरेको सूचनामा सिपाडोलको दोलाङ्गलगायतका स्थानमा डाँडा र भिरालो जमिनमा भूक्षय हुनेगरी अनियमित तवरले पर्यावरणको समेत वास्ता नगरी जथाभावी डोजर चलाई माटो निकाली रहेको जनाएको छ ।
समाजले सिपाडोल क्षेत्रको डाँडाभरी डोजर चलाएर प्राकृतिक सुन्दरता एवम् वन जंगल पर्ती जग्गा नै मिचिने गरी भौगोलिक अवस्था नै फरक पर्ने गरी भइरहेको माटो निकाल्ने कार्य बारे स्थानीय जनप्रतिनिधिहरुलाई जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको जनाएको छ ।
माटो ओसार्न प्रयोग भएको टिपरले बाटो बिगारेको र डोलेश्वर आशापुरी सडक खण्डको अवस्था दयनीय बन्दै गएको भन्दै समाजले उक्त कार्य यथाशिघ्र छिटो बन्द गर्न माग गरेको छ ।
समाजले कुनै प्रचलित नियम कानुन अनुसार माटो , ढुंगा, गिटी निकासी भइरहेको भए सो को जानकारी दिन समेत माग गर्दै माटो निकासी रोकथामका लागि जिल्ला प्रशासन कार्यालय, महानगरिय प्रहरी परिसर, महानगरिय प्रहरी वृत्त जगाती, सूर्यविनायक नगरपालिका, वडा नं. ८ को कार्यालय सिपाडोल, डिभिजन वन कार्यालय सानोथिमि र राष्ट्रिय प्राणी उद्यानको कार्यालय सूर्यविनायकमा समेत पत्राचार गरिएको जनाएको छ ।