चोरी निकासी भएका ऐतिहासिक सम्पदा फर्काउन सरोकारवालाहरूको बैठक

भक्तपुर, पुस १४
संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयको आयोजनामा युनेस्कोबाट सन् १९७० मा पारित साँस्कृतिक वस्तुहरूको अवैध रुपमा आयात निर्यात र व्यापारसम्बन्धी महासन्धी अनुसार नेपालबाट विभिन्न कालखण्डमा चोरी निकासी भएका ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका वस्तुहरू आधिकारिक प्रमाण जुटाइ नेपाल फर्काउन बुधबार सम्बन्धित सरोकारवालाहरूको बैठक सिंहदरबारमा बसेको छ ।
बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक कलाकृतिको संरक्षण सम्बद्र्धन र प्रवद्र्धन गर्ने जिम्मा पाएका मन्त्रालय, विभाग, कार्यालय र संघसंस्थाहरूलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदैं साँस्कृतिक सम्पदाहरू राज्यले उचित ध्यान दिन नसक्दा चोरी निकासीमा वृद्धि भएको बताउनुभयो ।
लैनसिंह वागंदेलको क्ष्लखभलतयचथ या क्तयलभ क्अगउितगचभक या तजभ प्बतजmबलमग ख्बििभथ पुस्तकमा उल्लेख भएका काठमाण्डौं उपत्यकाका विभिन्न स्थानमा रहेका प्रस्तर मूर्तिहरूको विवरण सम्बन्धित सबै स्थानीय तहहरूलाई उपलब्ध गराउनुपर्नेमा जोड दिँदै नगर प्रमुख प्रजापतिले भक्तपुरबाट हराएका भक्तपुर नगरपालिका वडा नं. ७ स्थित वीरभद्रेश्वर महादेव मन्दिरको पार्वतीको मूर्ति अमेरिकाको यल विश्वविद्यालय संग्रहालयबाट फर्काउन र भक्तपुर नगरपालिका वडा नं. ३ नासमनाबाट हराएको उमामहेश्वरको मूर्ति फ्रान्सको राजधानी पेरिसको एशियाली कला सम्बन्धि राष्ट्रिय संग्रहालय (गिमे म्युजियम)बाट फिर्ता ल्याउन भक्तपुर नगरपालिकाले परराष्ट्र मन्त्रालय, पुरातत्व विभागलगायत सरोकारवाला संघ संस्थाहरूमा पत्राचार गरेकोबारे अवगत गराउनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विभिन्न कालखण्डमा हराएका वा चोरी भएका सम्पदाहरू नेपाल फिर्ता गराउन महानगरको तर्फबाट आवश्यक पहल र समन्वय भइरहेको जानकारी गराउनुहुँदै सम्पदा क्षेत्रमा हुने चोरी–पैठारी रोक्न ती क्षेत्रहरूमा सुरक्षासम्बन्धी सूचना–प्रविधिको उचित व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।
बैठकमा संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका वस्तुहरू आधिकारिक प्रमाण जुटाइ नेपाल फर्काउन विभिन्न समस्या समाधानको लागि स्थानीय तहबाट आवश्यक समन्वय गर्नुपर्ने बताउनुभयो । साथै हराएका वा चोरी भएका सम्पदाहरू फिर्ता ल्याउन परराष्ट्र मन्त्रालयले आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
पुरातत्व विभागका निर्देशक दामोदर गौतमले नेपालबाट हराएका वा चोरी भएका मूर्तिहरूको तथ्यांक प्रस्तुत गर्दै ६० देखि ८० को दशकमा नेपालबाट व्यापक रुपमा सांस्कृतिक सम्पदाहरूको चोरी भएको बताउनुभयो ।
उक्त बैठकमा पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सुभद्रा भट्टराईले नेपालका चल सांस्कृतिक सम्पदाहरूको अनधिकृत निकारी पैठासीको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण देखाउनुहुँदै गैरकानुनी रुपमा निकासी भएका सांस्कृतिक सम्पदाहरू क्रमशः नेपाल फिर्ता हुन थालेको बताउनुभयो ।
बैठकमा गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, पुरातत्व विभाग, स्थानीय तहका प्रमुख, भन्सार विभाग, प्रहरी प्रशासन, राष्ट्रिय कला संग्रहालयलगायतका प्रतिनिधिहरूले चोरी भएका मूर्ति फर्काउने प्रक्रियालाई मन्त्रालयबाट सहजकिरण गर्नुपर्ने, चोरी भएका मूर्तिहरुको ऐतिहासिक प्रमाणको अभाव रहेको, सबै नाकाहरुमा निकासी वस्तुहरुको कडाइँका साथ जाँच गर्नुपर्ने, सम्पदा संरक्षणमा जनसहभागिता अभिवृद्धि गर्नुपर्ने, सम्पदाको महत्वबारे पाठ्यक्रममा समावेश गर्नुपर्नेलगायतका सुझावहरु राखेका थिए ।