बसपार्क सामूहिक बलात्कारका आरोपी ९ जना पक्राउ

भक्तपुर, पुस १५
काठमाण्डौंको गोंगबुस्थित नयाँ बसपार्कमा एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बुधवार नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये मुगुको छाँयानाथ रारा नगरपालिकाका हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजवाल, दीपक नेपाली, शिवहरि बुढा, युवराज बडुवाल, हस्त नेपाली र चन्द्र साउद गरी ८ जना र अर्घाखाँचीका गोपाल शिरिष छन ।
ती नौ जनाले एक युवतीलाई सोमवार साँझदेखी मंगलवार बिहान १० बजेसम्म पालैपालो बलात्कार गरेको आरोप लगाईएको छ । पिडित युवतीका अनुसार ती नौ जनाले गोंगबुको तीन वटा होटलमा लगेर बलात्कार गरेका थिए ।
सुर्खेतबाट कामको खोजीमा सोमवार मात्रै काठमाण्डौं आई पुगेका ती युवतीलाई वैदेशिक रोजगारीमा जान लागेका युवाहरुको समूहले बलात्कार गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाई रहेको छ ।
पिडित युवतीले मंगलवार बिहान साढे ११ बजे महानगरिय प्रहरी प्रभाग, बसपार्कमा पुगेर आफु रातभर बलात्कारमा परेको बताएकी थिईन । प्रहरीका अनुसार उनी मानसिक रुपमा विक्षप्त र शारिरीकरुपमा अत्यन्त कमजोर अवस्थामा प्रहरी प्रभाग आइ पुगेकी थिइन । उनको कुरा सुन्ने बित्तिकै प्रभागले काठमाडौं प्रहरी परिसर, टेकुमा जानकारी गराए । घटनाको बारेमा सुन्ने बित्तिकै परिसर प्रमुख एसएसपी सुदीप गिरी आफैं बसपार्क पुगे । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोली पनि अनुसन्धानमा खटियो ।
प्रहरीले पिडित युवतीलाई अस्पताल लगे । स्वास्थ्य परिक्षणपछि चिकित्सकको परामर्शमा पिडितको थप बयान लिए र प्रहरीले क्लोज सर्किट (सीसी) क्यामराको सहायतमा घटनाको अनुसन्धान थाले । प्रहरीले एउटा क्यामरामा पिडित युवतीसँगै एक पुरुष देखिएपछि त्यसैलाई आधार बनाई अनुसन्धानलाई तिव्रता दिए र २४ घण्टामा नै आरोपी नौ जनालाई पक्राउ गर्न सफल भए ।
पिडितको बयान अनुसार कामको खोजीमा उनी सोमवार काठमाण्डौं आईपुगेकी थिइन । बसपार्कमा एक जनाले उनलाई काममा लगाईदिने आश्वासन दिएर लगेका थिए । ती व्यक्तिले आफ्नो मोवाइल नम्बर समेत पिडित युवतीलाई दिएका थिए, तर प्रहरीले उक्त मोवाइल नम्बर अफ भएका कारण ती व्यक्तिलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।
प्रहरीले सबैभन्दा पहिला अर्घाखाँचीका गोपाल शिरिषलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मंगलवार राती पक्राउ गरेका थिए । एउटा शंकास्पद होटल अघिको सीसी क्यामरामा पिडित युवतीसँगै देखिएका शिरिषले अन्तिममा आफुलाई बलात्कार गरेको बयान पिडितले दिएपछि प्रहरीले शिरिषलाई पक्राउ गरेको हो । शिरिष मंगलवार राती ११ बजेको फ्लाईटबाट दुवई जाँदै थिए ।
सीसी टीभी फुटेजकै आधारमा अनुसन्धान गरिरहँदा थप व्यक्तिहरु पनि पक्राउ पर्दै गए । आरोपीहरु सबै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । ‘कोही जाने तयारीमा रहेछन कोही भिसा प्रोसेसका लागि आएका रहेछन,’ प्रहरी स्रोतले भन्यो ।
प्रहरीले आरोपी नौ जनालाई हिरासतमा राखेर अनुसन्धान थालेको छ । अनुसन्धानबाट थप तथ्य खुल्न सक्ने प्रहरीले जनाएको छ ।