थिमिको चारदोवाटोमा भयानक दुर्घटना – एकको मृत्यु, एक गम्भिर घाईते

भक्तपुर, पुस १५
मध्यपुर थिमि–४ चारदोबाटोस्थित अरनिको राजमार्गमा बुधवार राती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । घटनामा अर्का एक जना सामान्य घाईते भएका छन ।
राती करिव ९ बजे नयाँथिमीबाट गठ्ठाघरतर्फ जादै गरेको बा ४ च ५७६ नं. को कार आफै अनियन्त्रित भई सडकको बिच भागमा रहेको डिभाईडरमा ठक्कर खाई दुर्घटना हुँदा कारमा सवार धनुषा जनकपुर उप महानगरपालिका १५ घर भई हाल काठमाण्डौ शान्तिनगर बस्ने २२ वर्षिय अभिषेक साहको मृत्यु भएको हो । घाईते साहलाई उपचारका लागि नागरिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
घटनामा कार चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षिय सबिन घिसिङ गम्भिर घाईते भएका छन । घाईते घिसिङको मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
नयाँथिमीबाट गठ्ठाघरतर्फ जादै सो कारले सोही दिशातर्फ जाँदै गरेको बस र ट्याक्सीलाई समेत ठक्कर दिएको थियो । बसको पछाडीको भागमा क्षती पुगेको छ भने ट्याक्सी चालक रामेछाप मन्थली नगरपालिका वडा नं. १२ घर भई हाल ललितपुर टिकाथली बस्ने ३२ वर्षिय भिमसेन खत्री सामान्य घाईते भएका थिए । खत्री उपचारपछि डिस्चार्ज भइसकेका छन । घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।