फोनिजको भक्तपुर अध्यक्षमा पुनः शिल्पकार

भक्तपुर, पुस १३
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा भक्तपुरको अध्यक्षमा पुनः सुन्दर शिल्पकार चयन भएको छ । फोनिजको मंगलवार सम्पन्न तेस्रो जिल्ला अधिवेशन तथा साधारणसभाले शिल्पकारलाई दोस्रो कार्यकालको लागि अध्यक्ष चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा रामगोपाल तमखू, सचिवमा विनोद कोजु, कोषाध्यक्षमा रेणु त्वानाबासु चयन गरेको छ । त्यस्तै सहसचिवमा प्रदिप श्रेष्ठ, कार्यसमिति सदस्यहरुमा रत्नकाजी प्रजापति, हरिवहादुर श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ र दिपक श्रेष्ठ चयन भएका छन ।
सो अवसरमा फोनिजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गजुरधन राईले फोनिज नेपालका सम्पुर्ण आदिवासी जनजातिहरुको साझा थलो रहेको बताउनुभयो । फोनिजले स्थापनाकाल देखि नै थिचोमिचोमा परेका आदिवासी जनजातिका हकहितमा आवाज बुलन्द बनाउँदै आएको बताउँदै वर्तमान अवस्थामा फोनिज पत्रकारको हकहितमा आवाज उठाउने वैकल्पिक शक्तिको रुपमा उदय भएको बताउनुभयो ।
नेपाल पत्रकार महांसघका आदीवासी जनजातितर्फका केन्द्रीय सचिव नारायणसुन्दर किलम्वुले आदिवासी जनजाति पत्रकारको हकहितका लागि नेपाल पत्रकार महासंघले काम गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि आफू सधै जनजाति पत्रकारको अधिकारका लागि लड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
फोनिज बागमति प्रदेशका कोषाध्यक्ष पूर्णभक्त दुवालले उपत्यकामै रैथाने जनजातिहरु प्रति राज्यले विभेद गरेको बताउनुभयो । उहाँले उपत्यकामा विषेश गरि नेवार समुदायलाई लक्षित गर्दै सँस्कृति मास्ने गतिविधि बढेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।