एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप – उज्वेकिस्तानलाई हराउँदै नेपालद्धारा उपाधी रक्षा

भक्तपुर, पुस १३
साविक विजेता नेपालले एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधी रक्षा गरेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै उपाधी रक्षा गरेको हो ।
नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० को जित निकाल्दै उपाधी रक्षा गर्न सफल भएको हो । नेपालले यसअघि बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा पहिलो अन्तराष्ट्रिय उपाधी जितेको थियो ।
फाइनलमा नेपाल पहिलो सेटमा एक समय १२–१७ ले पछि परेको थियो तर नेपालले उत्कृष्ट पुनरागमन गर्दै २६–२४ को रोमाञ्चक जित निकाल्न सफल भयो । दोस्रो सेटमा नेपालले कुनै पनि समय अग्रता बनाउन सकेन र अन्ततः २४–२६ ले उज्वेकिस्तानलाई नतिजा सुम्पियो ।


रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा १५–१६ को अवस्थामा लय गुमाएपछि नेपाल १९–२३ ले पछि परेको थियो । उज्वेकिस्तानका प्रशिक्षकले रातो कार्ड खाएपछि नेपालले एक अंक थप्दै खेलमा फर्किएको संकेत दिदा ३ अंक जोड्दै खेललाई २३–२३ को बराबरीमा ल्याए । त्यसपछि नेपालले एक अंक जोड्दा उज्वेकिस्तानले दुई पटक सेट प्वाइन्ट लिदै खेल २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
तेस्रो सेटमा ११–११ को स्थितीबाट नेपालले लगातार ७ अंक जोड्दै खेललाई १८–११ को अवस्थामा पुर्याए । त्यसपछि नेपालले थप ७ अंक जोड्दै २५–१५ को सहज जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक चौथो सेटमा १०–१० को बराबरीबाट पछि परेको नेपालले सेट २२–२५ ले गुमाउन पुग्दा खेल पाँचौ सेटमा लम्वियो । प्रतिस्पर्धात्मक पाँचौ सेटमा ७–७ को बराबरीबाट अघि बढेको नेपालले १३–९ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । त्यसपछि उज्वेकिस्तानले दुई अंक र नेपालले दुई अंक जोड्दै १५–१० को सेटमा च्याम्पियन बन्न सफल भयो ।

यसपटक नेपालले च्याम्पियनसिपमा कुल ६ खेलमा २१ सेट खेल्दा १८ सेटमा जित र ३ सेटमा हारको नतिजा निकाल्यो । नेपालले राउण्ड रोविनको लिगमा श्रीलंकासँग २ तथा उज्वेकिस्तानसँग एक सेट गुमाएको थियो ।