राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डा. शर्माद्धारा पदबहाली

भक्तपुर, पुस १२
राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डा. महाश्रम शर्माले पदबहाली गर्नुभएको छ । भक्तपुरको सानोथिमिस्थित बोर्डको कार्यालय पुगेर अध्यक्ष डा. शर्माले सोमवार पदबहाली गर्नुभएको हो । पदबहालीका लागि परीक्षा बोर्ड पुग्नुभएका डा. शर्मालाई सदस्य सचिव दुर्गाप्रसाद अर्यालको नेतृत्वमा कर्मचारीहरुले स्वागत गरेका थिए ।
पदबहाली लगत्तै कार्यालयमा आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. शर्माले बोर्डको कामलाई परीक्षाको औपचारिकतामा मात्र सीमित गर्न नहुने बताउनुभयो । बोर्डलाई विश्वका राम्रा परीक्षा बोर्डहरुको सूचीमा दर्ज गराउनुपर्ने आवश्यकता औल्याउँदै अध्यक्ष डा. शर्माले आफ्नो कार्यकाल सोही लक्ष्यमा केन्द्रीत रहने उद्घोष गर्नुभयो ।
सबै कर्मचारीलाई आ–आफ्नो कर्तब्य पालना गर्न निर्देशन दिँदैं अध्यक्ष डा. शर्माले भन्नुभयो, “सामुहिकतामा नै शक्ति हुन्छ । म सधैं कर्मचारीहरुको वृत्ति विकासको पक्षमा रहने प्रतिवद्धता व्यक्त गर्दछु ।”
उक्त अवसरमा सदस्य सचिव दुर्गाप्रसाद अर्याल, निर्देशक जंगबहादुर अर्याल, नेराकस परीक्षा बोर्डका केन्द्रीय अध्यक्ष प्रकाश अवाले, कर्मचारी युनियनका अध्यक्ष राजु ओलिया र कर्मचारी संघका अध्यक्ष नरेन्द्र ढकालले बोर्डको नेतृत्वमा शिक्षा बुझेका पूर्व सचिव शर्माको आगमनले उत्साह मिलेको बताउदै उहाँको अनुभवले बोर्डको प्रगती हुने बिश्वास ब्यक्त गरेका थिए ।