नेमकिपाले एमसीसी विरुद्ध पुस १६ मा काठमाण्डौंमा प्रदर्शन गर्ने

भक्तपुर, पुस १२
नेपाल मजदुर किसान पार्टीले यही पुस १६ गते राजधानी काठमाण्डौंमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पो्सन (एमसीसी) सम्झौता विरुद्ध प्रदर्शन गर्ने भएको छ । नेमकिपाको हालै सम्पन्न केन्द्रीय परिषद बैठकको निर्णय अनुसार नेमकिपाले काठमाण्डौंमा एमसीसी विरुद्ध प्रदर्शन गर्न लागेको हो ।
प्रदर्शनको तयारी भइरहेको जनाउँदैं नेमकिपा स्रोतले अहिले नै प्रदर्शनको मोडालिटी कस्तो हुन्छ भन्ने प्रष्ट भइनसकेको बताए । ‘प्रदर्शन गर्ने भन्ने निर्णय भएको छ । कहाँ कहाँ प्रदर्शन गर्ने, कुन कुन ठाउँबाट जुलुश निकाल्ने भन्ने बारे तयारी र छलफल भइरहेको छ,’ स्रोतले भने, प्रदर्शनको विस्तृत कार्यक्रम एक दुई दिनभित्र सार्वजनिक हुन्छ ।
नेमकिपाले एमसीसी सम्झौता राष्ट्रघाती भएको दावी गर्दै यसको विरुद्धमा प्रदर्शन गर्दै आइरहेको छ । नेमकिपाले यसअघि पनि राजधानीमा पटक पटक विशाल जनसहभागिता सहित प्रदर्शन गरी सकेको छ भने भक्तपुरमा पनि विभिन्न स्थानमा प्रदर्शन गर्दै एमसीसी विरुद्ध जनतालाई सचेत पार्दै आएको छ ।