भारतीय कामदारको मृत्यु

भक्तपुर, पुस १२
चाँगुनारायण नगरपालिका–८ सुडालस्थित श्री ईट्टाभट्टामा कार्यरत एक भारतीय मजदुरको मृत्यु भएको छ । ईट्टाभट्टाको झ्याउली (कामदार बस्न बनाईएको छाप्रो)मा अचेत अवस्थामा सोमवार बिहान फेला परेका ३२ वर्षिय भारतीय कामदार संजय पासवानको उपचारको क्रममा मृत्यु भएको हो ।
झ्याउलीमा अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागी डा. ईवामुरा अस्पताल लगिएकोमा उपचारकै क्रममा पासवानको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई थप अनुसन्धान कार्य भईरहेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।