बोडेको अष्टमंगल वचतको लाभांश ११ प्रतिशत

भक्तपुर, पुस ११
मध्यपुर थिमि–८ बोडेस्थित अष्टमंगल वचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई ११ प्रतिशत लाभांश वितरण गरेको छ । संस्थाले आइतवार नवौं साधारणसभा गर्दै शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गरेको हो ।
संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा ६ लाख २८ हजार ४३३ रुपैंया खुद नाफा आर्जन गरेको जानकारी दिँदैं संस्थाका अध्यक्ष दिलकृष्ण प्रजापतिले सहकारी क्षेत्र वित्तिय प्रतिवेदन ढाँचा २०७६ अनुरुप आर्थिक विवरण बनाउनु पर्ने भएकाले सो अनुरुप विभिन्न ५ शिर्षकमा ३० प्रतिशत थप कोषमा छुट्याउनु परेकाले लाभांश ११ प्रतिशत मात्र वितरण गरेको बताउनुभयो ।
संस्थाले गत आर्थिक वर्ष १७ लाख ३२ हजार ८७५ रुपैंया व्याज आम्दानी गरेको जानकारी दिँदैं संस्थाका कोषाध्यक्ष श्याम सुन्दर चक्रधरले कोभिड–१९ का कारणले गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारणले जनजीवन तथा सबै व्यवसायहरु प्रभावित भएकाले त्यसको असर सहकारीको वित्तिय कारोवारमा पनि देखिएको बताउनुभयो ।
साधारणसभाको उद्घाटन गर्दै मेघा बैंकका निर्देशक डा. ईन्द्रबहादुर मल्लले बैंक र सहकारी एक अर्काका परिपुरक भएको बताउनुभयो । अनिश्चित भविष्यलाई सुनिश्चित गर्न वचत गर्ने बानी बसाल्नु पर्ने सुझाव दिँदैं मल्लले वचत गर्ने बानीलाई संस्थागत गर्न सके मात्र प्रतिफल पाउन सक्ने बताउनुभयो ।
दुई अर्बको चुक्ता पुँजीबाट शुरु गरिएको मेघा बैंक हाल १६ अर्बको चुक्तापुँजीका साथ सञ्चालन भइरहेको जानकारी दिँदैं मल्लले मेघा बैंकमा हाल दुई लाख ५० हजार भन्दा बढी सर्वसाधारणको शेयर लगानी रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले सहकारीका नाममा विकृति भित्रिएकाले निक्षेपकर्ता चनाखो हुनुपर्ने बताउनुभयो । सहकारी भन्ने बित्तिकै स्थानीय टोलबासी, दाजुभाई वा चिनजानका समाजका प्रतिष्ठित व्यक्तित्वहरु सञ्चालक भए मात्र विश्वासिलो हुने बताउँदैं प्रजापतिले ठूला ठूला नारा र आकर्षक व्याजदरको नाममा लोभमा फस्न नहुने सुझाव दिनुभयो ।
मध्यपुर थिमि नगरपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार राईले सहकारी भनेको समूदायमा आधारित संस्था भएकाले सबै सदस्यहरुको समान र उत्तिकै जिम्मेवारी रहने बताउनुभयो । उहाँले संस्थाप्रति सञ्चालक समिति मात्र नभई साधारण सदस्यहरु पनि बफादार बने मात्र संस्थाले उन्नती प्रगति गर्न सक्षम हुने बताउनुभयो ।
सो अवसरमा संस्थाले संस्थाका ज्येष्ठ सदस्य ८१ वर्षिय रत्नहरी चाँसी श्रेष्ठलाई नगद दुई हजारसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो भने सहकारी स्थापनाका सहयात्री सहपाठी नेत्र विशेषज्ञ डा. रश्मी श्रेष्ठलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो । बोडे माविको एसएलसी व्याच २०५५ का विद्यार्थीहरुको ४० जनाको समूहले शुरु गरेको उक्त संस्थाले यसअघि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएर जात्रालाई निरन्तरता र जिवन्तता दिन योगदान गर्ने जुजुभाई बास श्रेष्ठ, बुद्धकृष्ण बाग श्रेष्ठ, बोडेका स्थानीय साँस्कृतिक गुरुलगायतलाई सम्मान गरिसकेको संस्थाका सचिव कन्चन मान सिपाईले बताउनुभयो ।