प्रहरीलाई न्यानो सामग्री सहयोग

भक्तपुर, पुस ११
सूर्यविनायक नगरपालिका वडा नं. ५ कार्यालयले महानगरिय प्रहरी प्रभाग कटुञ्जेलाई जाडोमा उपयोगी सामग्री प्रदान गरेको छ । जाडोको मौसममा प्रहरीलाई न्यानो सिरक डस्नाको अभाव भएकोले वडा कार्यालयले आइतवार करिव दुई लाख ५० हजार रुपैंया बराबरको जाडोको उपयोगी सामग्री वितरण गरेको हो ।
महानगरिय प्रहरी प्रभाग कटुञ्जेमा आयोजित कार्यक्रममा वडाअध्यक्ष राजकुमार जोशीले ती सामग्री प्रभाग प्रमुख प्रहरी नायव निरिक्षक (सई) खिलबहादुर दुलाललाई हस्तान्तरण गर्नुभयो । वडाअध्यक्ष जोशीका अनुसार सिरक, डस्ना, तकिया लगायत ३५ सेट सामग्री हस्तान्तरण गरिएको हो ।
सो अवसरमा वडा अध्यक्ष जोशीले कटुञ्जे र आसपासका जनताको शान्ति सुरक्षामा रातदिन खटिने प्रहरीलाई न्यानो सामग्री नहुँदा जाडोमा समस्या भएको जानकारी पाएपछि वडाले सहयोग गरेको बताउनुभयो । प्रहरी जनताको सेवक र साथी भएकाले प्रहरीको समस्या वडाको पनि समस्या भएको बताउँदैं जोशीले यसअघि पनि कार्यालय व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग गरेको जानकारी दिनुभयो ।
महानगरिय प्रहरी वृत्त जगातीमा प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) रामबहादुर केसीले प्रहरीको सिमित साधन स्रोतका कारण अति आवश्यकीय सामग्री समेत कहिले काहीँ अभाव हुने गरेको बताउनुभयो । उहाँले प्रहरी नागरिक समाज र स्थानीय सरकारसँग सधै सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।