भक्तपुर जिल्ला लिग फुटबल शुरु, पहिलो खेलमा भक्तपुर युनाईटेड विजयी

भक्तपुर, पुस ११
भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ मा भक्तपुर युनाइटेड फुटबल क्लवले विजयी शुरुवात गरेको छ । मध्यपुर थिमिको सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा शनिवार शुरु भएको जिल्ला लिगमा युनाइटेडले जनप्रेमी स्पोटर्स क्लव कौशलटारलाई पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेडले जनप्रेमीलाई ५–० ले पराजित गरे । युनाइटेडले पहिलो हापमा एक गोलले अग्रता बनाएको थियो भने दोस्रो हापमा ४ गोल थपेको थियो ।
युनाइटेडको तुलनामा निक्कै कमजोर देखिएको जनप्रेमीले खेल अवधीभर गतिलो आक्रमण समेत बुन्न सकेन । शारीरिकरुपले पनि कमजोर देखिएको जनप्रेमी अधिकांश समय युनाइटेडलाई रोक्न मै व्यस्त बने । खेलको अधिकांश समय बल जनप्रेमीको गोलपोष्ट नजिक घुमिरहेको थियो । केही अवसरमा जनप्रेमीका गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै टोलीलाई लज्जास्पद हारबाट जोगाएका थिए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले जिल्लामा फुटबल विकासका लागि एन्फाले जिल्ला लिगको अवधारणालाई थप परिस्कृत गरेको बताए । उनले जिल्लामा नकआउट लिगबाट ६ वा ८ क्लव जिल्ला ए डिभिजन लिगको लागि छनोट हुने र अर्को वर्ष सोही ६ वा ८ टिमबीच जिल्ला लिग हुने जानकारी दिए । त्यसैगरी जिल्ला लिगको लागि छनोट हुन नसकेका टोली र खुल्ला विज्ञापनबाट आवेदन दिएका टोली समावेश गरी जिल्ला नकआउट लिग हुने अध्यक्ष शेर्पाले बताए ।


उनले भक्तपुर जिल्ला फुटबल संघलाई खारेज नगरी अघिल्लो कार्यसमितिले एन्फाको विधान, नीति र निर्देशनको पालना नगरेकोले त्यसलाई प्रतिष्ठापन गरी नयाँ तदर्थ समितिलाई लिग सञ्चालन गर्ने जिम्मेवारी दिएको बताए ।
केन्द्रदेखी जिल्लासम्म फुटबलमा रहेको सिण्डिकेट तोड्न आफुले भरमग्दुर प्रयास गरिरहेको बताउँदैं उनले एउटै व्यक्ति २० वर्षसम्म अध्यक्ष हुने प्रवृत्तिले फुटबलको विकास नभएको जिकिर गरे ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले खेलकुदलाई अतिरिक्त क्रियाकलापका नभई अनिवार्य क्रियाकलापको रुपमा विद्यालय तहदेखी बिस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । उनले खेलकुदमा राजनीति घुसायो भने यसको विकास हुन सक्दैन भन्दै खेललाई राजनीतिबाट मुक्त बनाएर खुल्ला रुपमा सहयोग गर्ने बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले राजनीतिक दल चुनावी मैदानमा प्रतिस्पर्धा गरेपनि खेल क्षेत्रको विकासका लागि एक अर्काबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।


कार्यक्रममा एन्फाका उपाध्यक्ष एवं मध्यपुर युथ एशोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले मध्यपुर युथ एशोसिएन ए डिभिजनमा उक्लिसकेको भए पनि आर्थिक अभावका कारण त्यसमा टिकाउन नसकेको तितो अनुभव सुनाए । उनले आगामी फागुनमा हुने बि डिभिजन लिगबाट ए डिभिजनका उक्लने गरि तयारी गरिरहेको जानकारी दिँदैं नेपालमा ग्रासरुट फुटबलको विकासमा मध्यपुर पहिलो स्थानमा रहेको बताए । उनले फुटबलको विकासका लागि राजनीतिक हस्तक्षेप नभई सहयोग हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, बिज एजुकेशनका निर्देशक हरिकृष्ण कार्की, संघका वरिष्ठ उपाध्यक्ष अनिल हेका, अध्यक्ष किशोर हेकाले फुटबल खेलको विकासमा भक्तपुरले गरेको प्रगतिको चर्चा गरे ।
संघले लिग कम नकआउटको आधारमा सञ्चालन गरेको प्रतियोगितामा भक्तपुर जिल्लाका १३ वटा टिमको सहभागिता रहेको छ । १४ वटा क्लव दर्ता भएपनि कागजपत्र नपुगेका कारण एउटा टिमको दर्ता रद्ध भएको संघका कोषाध्यक्ष निलेश आचार्यले बताए ।