भक्तपुर दरबार स्क्वायरको नृत्य वत्सला मन्दिर पुनःनिर्माण सम्पन्न

भक्तपुर, पुस १०
भक्तपुर दरवार स्क्वायरमा अवस्थित नृत्य वत्सला मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । वि. सं. २०७२ सालको भूकम्पले भत्किएको उक्त मन्दिर भक्तपुर नगरपालिकाले पुनःनिर्माण गरेको हो ।
वत्सला मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले १ करोड २८ लाख ६२ हजार लगत इस्टमेट तयार गरेकोमा उपभोक्ता समितिमार्फत आवधिक योजनामा समावेश गरी काम गर्दा ७७ लाख १३ हजार रुपैंयामा पुनःनिर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
सो मन्दिरको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले शनिवार उद्घाटन गर्दै ढुंगै ढुंगाले बनेको शिखर शैलीका वत्सला मन्दिर पुनःनिर्माणले भक्तपुर नगरलाई थप जीवन्त बनाएको बताउनुभयो । अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले गरेको सम्पदा संरक्षण देशकै लागि गौरवको विषय भएको बताउनुभयो ।
नेपालका प्राचीन र ऐतिहासिक सम्पदा संरक्षण र जीर्णोद्धारमा केन्द्र सरकार उदासीन बनेको आरोप लगाउँदैं अध्यक्ष बिजुक्छेँले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको खण्डमा स्थानीय जनताको मर्मअनुरुप काम गर्न सहज हुने बताउनुभयो ।


नयाँ पुस्तालाई सम्पदाको महत्वबारे प्रशिक्षित गर्दै मौलिक सीप र प्रविधिको ज्ञान हस्तान्तरण गर्नु आवश्यक भएको बताउँदैं उहाँले भक्तपुर दरबार क्षेत्रमा अवस्थित लाल बैठकलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालका सम्पदाहरु अध्ययन अनुसन्धानमा विदेशीहरुको रुचि हुनु स्वाभाविक भएको बताउँदैं अध्यक्ष बिजुक्छेँले नेपाली विद्यार्थीहरुलाई पनि यहाँका सम्पदाहरुको विषयमा अध्ययन अनुसन्धान गराउनेतर्फ प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा अध्यक्ष बिजुक्छेंले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित नृत्य वत्सला मन्दिरसम्बन्धी महत्वपूर्ण विवरण संग्रहित ‘नृत्य वत्सला मन्दिर पुनःनिर्माण २०७८’ पुस्तक सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले भक्तपुरको सम्पदा संरक्षण भक्तपुरबासी जनताले आफ्नो साझा दायित्वको रुपमा लिएको बताउनुभयो । उहाँले भक्तपुरलाई सफा, स्वच्छ र सभ्य सहरको रुपमा विकास गर्ने सबैको साझा लक्ष्य भएको बताउँदैं उहाँले सम्पदा संरक्षणसम्बन्धी भौतिक व्याख्यासहितको अभिलेख तयार हुनुपर्नेमा जोड दिनुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्रतिकूल अवस्थामा पनि स्थानीय जनताको सहयोगमा उपभोक्ता समितिमार्फत वत्सला मन्दिर पुनःनिर्माण गरेको स्मरण गर्नुभयो । पर्यटक शुल्कको अधिकांश रकम सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्य जस्ता विषयहरुमा खर्च गर्दै आएको जानकारी दिँदैं उहाँले विदेशी सहयोग, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था (आइएनजिओ)हरूको सहयोग बिना पनि स्थानीय जनताकै सहयोगमा सम्पदाहरूको जीर्णोद्धार र पुनःनिर्माण सम्भव छ भन्ने कुरा भक्तपुर नगरपालिकाले पुष्टि गर्दै आएको बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले सम्पदा पुनःनिर्माणसम्बन्धी पुस्तकमा सम्पदा निर्माण कार्यमा आबद्ध श्रमिकको अनुभव र मूल्य अनुदित गरिनुपर्नेमा जोड दिदैं गोसाइँले निर्माण कार्यमा आबद्ध सम्पूर्ण जनशक्ति धन्यवादका पात्र भएको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले गरेको सम्पदा संरक्षणले सभ्यताको समेत जगेर्ना भएको बताउनुभयो । उहाँले भक्तपुर नपाले यहाँका भौतिक सम्पदाहरु अध्ययन अनुसन्धान र अन्वेषण गर्दै मौलिक शैली, विधि र प्रविधिका साथ संरक्षण गर्ने नीति अगाडि बढाएको बताउनुभयो ।
कार्यक्रममा दरवार हेरचाह अड्डा, भक्तपुरका प्रमुख अरुणा नकर्मीले उपभोक्ता मोडल विवादरहित र सफल रुपमा कार्यान्वयन हुनु नै भक्तपुर नगरपालिकाको विशेषता भएको बताउँदैं सम्पदा संरक्षणमा भक्तपुर नपाको भूमिका उल्लेखनीय भएको चर्चा गर्नुभयो ।
संस्कृतिविद् तेजेश्वरबाबु गोंगले सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भक्तपुरका कालीगढको उत्कृष्ट सीप सम्मानजनक भएको बताउँदैं वत्सला मन्दिरबारे सूक्ष्म रुपमा अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।
पुर्वन्यायाधिस गौरीबहादुर कार्कीले २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति पुगेको नृत्य वत्सला मन्दिर पुनःनिर्माणले नेपालकै गौरवलाई बढाएको चर्चा गर्दै न्ह्यकं झ्या दरबारलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न नपाले पहल गर्नुपर्ने बताउनुभयो ।
इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण गर्ने सीप अहिले पनि जीवित रहनु सुखद् पक्ष भएको बताउँदै. वत्सला सम्बन्धी प्रकाशित पुस्तकले अध्ययन अनुसन्धान गर्ने विद्यार्थी तथा अनुसन्धाताहरुलाई टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर पत्रिकाका सम्पादक लक्ष्मणराज जोशीले पुस्तकसम्बन्धी समिक्षा गर्नुभएको थियो भने नृत्य वत्सला मन्दिर उपभोक्ता समिति अध्यक्ष रामहरि गोराले मन्दिर पुनःनिर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुरका सांस्कृतिक नाचहरु माक प्याखं र फाकंदली प्याखं प्रदर्शन गरिएको थियो भने नृत्य वत्सला मन्दिर उपभोक्ता समितिका अध्यक्ष रामहरि गोराले नगर प्रमुख प्रजापतिलाई वत्सला मन्दिर प्रवेशद्वारको साँचो हस्तान्तरण गर्नुभएको थियो ।