कांग्रेस सभापतिमा पुनः देउवा विजयी

भक्तपुर, मंसिर २९
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित हुनुभएको छ । पहिलो चरणमा विधान बमोजिम आवश्यक मत कुनै पनि उम्मेदवारले प्राप्त गर्न नसकेपछि सम्पन्न दोस्रो चरणको निर्वाचनमा देउवा अर्का प्रत्यासी डा. शेर कोइरालालाई भारी मतान्तरले पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो ।
देउवा कोइरालालाई ८७८ मतान्तरले पराजित गर्दै दोस्रो पटक सभापतिमा विजयी हुनुभएको हो । दोस्रो चरणमा देउवाले २७३३ र कोइरालाले १८५५ प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेको मा ३५ मत बदर भएको समितिले जानकारी दिए ।


महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि यसअघि सोमवार भएको मतदानमा पाँच जनाले सभापतिका लागि प्रतिष्पर्धा गरेका थिए । पहिलो चरणमा देउवा, कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले प्रतिष्पर्धा गरेका थिए ।
दोस्रो चरणको निर्वाचनमा पहिलो चरणमा तेस्रो हुने सिंह, चौंथो हुने निधि र पाँचौं हुने गुरुङले देउवालाई समर्थन गरेका थिए । पहिलो चरणमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए भने ७६ मत बदर भएको थियो । पहिलो चरणमा देउवाले २२५८ अर्थात ४८ दशमलव २३ प्रतिशत मत प्राप्त गरे भने डा.कोइरालाले १७२९, सिंहले ३७१, निधिले २४९ र गुरुङले २२ मत प्राप्त गरेका थिए ।