चाँगुनारायण नगरपालिकामा अख्तियारको अनुसन्धान

भक्तपुर, मंसिर २८

भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । नगरपालिकाले विगत दुई वर्ष भित्र सञ्चालन गरेका ५ लाख भन्दा माथिका योजनाको बारेमा अख्तियारले अनुसन्धान थालेको हो ।
स्थानीय तहमा व्यापक अनियमितता हुने गरेको गुनासो एवम् उजुरी बढेपछि अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयको विशेष टोलीले मंगलवार चाँगुनारायण नगरपालिकाका योेजनाको कागजपत्र नियन्त्रणमा लिएर छानविन गरेको हो ।
टोलीले योजनाको लागत इष्टिमेट, कार्यान्वयन पक्ष, भुक्तानीको प्रक्रियाको विस्तृत अनुसन्धान गर्ने जनाएको छ । यस्तै गरी नगरपालिकाको खरिद प्रक्रियाका बारेमा पनि अनुसन्धान गर्नेछ ।
स्रोतका अनुसार अख्तियारले केही समय अघि आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८ का योजना र खरिदका फाइल माग गरी लगेको र ती फाइलको अनुसन्धानपछि थप प्रमाणिकरणका लागि नगरपालिका आएर अनुसन्धान गरेको हो ।
नगरपालिकामा अख्तियारको टोलीले छानविन गरेको पुष्टि गर्दै नगरप्रमुख सोम प्रसाद मिश्रले टोलीलाई आवश्यक सहयोग गर्ने बताए । टोलीले विभिन्न योजनाका कागजपत्र माग गरेको र सो अध्ययन गरी सम्बन्धीत निकायका कर्मचारीसँग सोधपुछ समेत गरिरहेको नगरप्रमुख मिश्रले जानकारी दिए ।
‘अख्तियारको टोली बिहानैदेखी अनुसन्धान गरिरहेको छ । टोलीलाई मेरै कार्यकक्षमा राखेको छु,’ उनले भने । अख्तियारको टोली नगरपालिकामा सात दिन रहने जानकारी पाएको नगरप्रमुख मिश्रले बताए ।
‘टोलीले स्थानीय तहमा व्यापक अनियमितता हुने गरेको जनगुनासो बढेपछि अख्तियारले स्थानीय तहमा योजना कार्यान्वयनको अवस्था, भुक्तानी र खरिद प्रक्रियाका बारेमा विस्तृत अध्ययन गर्ने उद्देश्यले अनुसन्धानका लागि आएका हौं भनी जानकारी दिएको छ,’ नगरप्रमुख मिश्रले भने, ‘बाँकी अनुसन्धानको पाटो सकिएपछि थाहा होला ।