कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने, पहिलो चरणमा देउवालाई २२५८ र डा. कोइरालालाई १७२९ मत

भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि सोमवार सम्पन्न निर्वाचनमा सभापतिका उम्मेदवारहरुले विधान बमोजिम खसेको कुल मतको ५० प्रतिशत भन्दा बढी ल्याउन नसकेपछि सभापतिका लागि पुनः निर्वाचन हुने भएको हो । निर्वाचन समितिले आजै दोस्रो चरणको निर्वाचन गर्ने तयारी गरेको छ ।
प्राप्त मत परिणाम अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत प्राप्त गर्नुभयो । उहाँ सभापतिका प्रतिष्पर्धी पाँच जना उम्मेदवार मध्ये पहिलो बन्नुभएको छ ।
त्यसैगरी दोस्रो स्थान प्राप्त गरेका डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गर्नुभयो । त्यस्तै तेस्रो स्थानमा प्रकाशमान सिंहले ३७१, चौंथो स्थान हासिल गरेका विमलेन्द्र निधिले २४९ र अर्का दाबेदार कल्याण गुरुङले २० मत पाउनुभयो ।
अब दोस्रो चरणमा पहिलो चरणमा शिर्ष दुई स्थान हासिल गर्नुभएका देउवा र कोइरालाबीच प्रतिष्पर्धा हुनेछ । देउवाविरुद्ध साझा उम्मेदवार तय गर्ने संस्थापन इत्तर पक्षको प्रयास असफल भएपछि पहिलो चरणमै देउवाले आवश्यक मत प्राप्त गर्ने अपेक्षा गरिएको थियो ।
अब दोस्रो चरणमा संस्थापन इत्तर पक्ष एकजुट भए देउवाको विकल्प निस्कने सम्भावना रहेको छ । त्यसका लागि सिंह र निधि दुवैले कोइरालालाई सघाउनु पर्नेछ । निधिले देउवालाई नसघाउने यसअघि नै घोषणा गरिसक्नु भएको छ भने कांग्रेसमा नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने माग गर्ने सिंहले कसलाई सघाउँछन उसैको पल्ला भारी हुने देखिन्छ ।