शेरबहादुर देउवाको राजनीति यात्रा

भक्तपुर, मंसिर २९
कांग्रेस नेता शेरबहादुर देउवा दोस्रो पटक नेपाली कांग्रेसको सभापति बन्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशनबाट देउवा दोस्रो पटक सभापतिमा निर्वाचित हुनुभएको हो । सभापतिका प्रत्यासी डा. शेखर कोइरालालाई ८७८ मतान्तरले पराजित गरेका देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्नुहुन्छ ।
देउवाको जन्म २००३ सालमा सुदूरपश्चिमको डडेलधुरा जिल्लाको साबिक असिग्राम गाविस वडा नम्बर ५ मा भएको हो । प्राथमिक शिक्षा डडेलधुराकै असिग्राम प्राथमिक विद्यालयमा लिनुभएका देउवाले निम्न माध्यमिक शिक्षा महेन्द्र मावि र माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीमा लिनुभयो ।
एसएलसी दिएपछि डडेलधुराबाट २०२१ सालमा काठमाण्डौं आएर त्रिचन्द्र कलेज भर्ना भएका देउवा त्यही बेला कांग्रेसी राजनीति नजिक पुग्नुभयो । त्रिचन्द कलेजमा अध्ययनकै क्रममा पटक पटक पक्राउ परेका देउवाले २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभयो ।
त्यसपछि उहाँ नेपाल विद्यार्थी संघको संस्थापक सदस्य र २०२८ सालमा सभापति बन्नुभयो । त्यसअघि देउवा विपिलाई भेट्न वनारस जानुभएको थियो । विपिकै सहयोगमा देउवा नेविसंघको सभापति बन्नुभएको हो ।
देउवाको राजनीतिक अभिरुची देखेर विपिले उहाँलाई विद्यार्थी र युवकालमा नै पार्टीको ठूलो जिम्मेवारी दिनुभयो । विपिले देउवालाई सुदूरपश्चिममा पार्टीको काममा खटाउनुभयो । देउवा भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेल्धुरा, डोटी, अछामलगायतका जिल्लाहरुमा सक्रिय रहनुभयो ।
नेपालमा पञ्चायती ज्यादती बढ्न थालेको र युरोपमा नेपालको प्रजातान्त्रिक आन्दोलनको पक्षमा जनमत जुटाउने उद्देश्यले विपिले देउवालाई बेलायतको लण्डनमा उच्च शिक्षाका लागि पठाउनुभयो । वि. सं. २०४६ मा नेपाली कांग्रेसले पहिलो जनआन्दोलन छेड्दा देउवा लन्डन स्कुल अफ इकोनोमिक्सको ‘फेलोसिप’ मा अध्ययन गर्दै हुनुहुन्थ्यो । जनआन्दोलन सफल भएपछि उहाँ २०४७ मा नेपाल फर्किनुभयो ।
पञ्चायत विरोधी गतिविधिका कारण देउवाले पटक पटक गरी नौ वर्ष जेलनेल भोग्नु भएको छ ।
बेलायतबाट नेपाल फर्किएपछि कांग्रेसले देउवालाई सुदुरपश्चिमको कमाण्डर बनाए । उनको नेतृत्वमा २०४८ सालको आम निर्वाचनमा सुदुरपश्चिमका १९ मध्ये १८ क्षेत्रमा कांग्रेसले निर्वाचन जिते । देउवा सुदुरपश्चिमको नेताको रुपमा स्थापित हुनुभयो । नेपाली कांग्रेसले बहुमत ल्याएको सो निर्वाचनपछि बनेको गिरिजा प्रसाद कोइरालाको सरकारमा देउवा गृहमन्त्री बन्नुभयो ।


त्यसयता देउवाको राजनीतिमा निक्कै ठूलो उतारचढाव आएको छ । देउवाले गृहमन्त्री बनेको पाँच वर्षमा नै प्रधानमन्त्री बन्ने सौभाग्य पाए । त्यतिबेला उहाँ ४९ वर्षको हुनुहुनुथ्यो । त्यसयता उहाँ पाँच पटक नेपालको प्रधानमन्त्री बन्न सफल हुनुभएको छ ।
कांग्रेसभित्रको आन्तरिक किचलोले कोइरालाको बहुमतको सरकारले मध्यावधीमा जाने निर्णय ग¥यो । २०५१ मा भएको मध्यावधीमा कांग्रेस दोस्रो ठूलो बन्यो । नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले ठूलो दलको नेताको रुपमा अल्पमतको सरकार बन्यो ।
मध्यावधीपछि गठन भएको संसदमा कोइरालाले देउवालाई आफ्नो उत्तराधिकारीका रूपमा अघि सार्नुभयो । देउवा संसदीय दलको नेता बन्नुभयो । सरकार गठनको नौ महिनापछि अधिकारीको सरकार ढल्यो । त्यसपछि देउवा पहिलो पटक संयुक्त सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्नुभयो ।
देउवाको सरकार हुँदा नेपालमा माओवादी जनयुद्ध शुरु भयो । वि. सं. २०५२ सालमा भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए र त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि नेपालमा माओवादी जनयुद्ध शुरु भयो ।
वि. सं. २०५६ सालको आम निर्वाचनमा कांग्रेसले पुनः बहुमत ल्याए । देउवा २०५६ सालमा डडेल्धुराबाटै निर्वाचित हुनुभयो । चर्किँदो माओवादी द्वन्द्व, राजा र सेनाको असहयोग र एमालेको ५७ दिनसम्मको संसद घेराउबाट बाध्य भएर गिरिजाप्रसादले २०५८ असारमा राजीनामा दिएपछि देउवा दोस्रो पटक नेपालको प्रधानमन्त्री बन्नुभयो ।
देउवा प्रधानमन्त्री बनेको ६ महिनामा नै पार्टीभित्रको आन्तरिक किचलो बढ्दै गयो र पार्टी सभापति गिरिजा प्रसाद कोइरालाले देउवालाई प्रधानमन्त्रीबाट हटाउन कसरत गरे । कांग्रेसमा फेरि सत्ता संघर्ष चुलियो । देउवाले पार्टीको सहमतिबिना संकटकाल घोषणा गर्नुभयो । संसद तथा स्थानीय निकाय विघटन गरेर आमनिर्वाचन घोषणा गर्नुभयो तर असोज १८ गते राजा ज्ञानेन्द्रले देउवालाई असक्षम घोषणा गर्दै पदमुक्त गरे ।
त्यही वर्ष नेपाली कांग्रेसले देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन ग¥यो । देउवा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति बन्नुभयो ।


देशमा राजा ज्ञानेन्द्र विरुद्ध आन्दोलन चलिरहेको थियो । देउवालाई सत्ताबाट हटाएको डेढ वर्षपछि राजा ज्ञानेन्द्रले पुनः देउवालाई प्रधानमन्त्रीमा स्थापित गरे र देउवा तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो । तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नो हातमा लिँदै देउवालाई हटाए ।
त्यसको लगभग साढे एक वर्षपछि फेरि ज्ञानेद्रले देउवालाई प्रधानमन्त्री नियुक्त गरे । प्रतिगमन ‘आधा सच्चिएको’ भन्दै देउवाको नेतृत्वमा एमालेसहितका पार्टी सरकारमा गए । २०६१ माघ १९ गते ज्ञानेन्द्रले ‘शाही कू’ मार्फत देउवालाई दोस्रोपटक अपदस्त गरेर सत्ता हातमा लिए । ‘शाही कू’ पछि देउवालाई प्रजातन्त्र दुईपटक दरबारमा बुझाएको आरोप लाग्यो ।
त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगायो । उहाँ पक्राउ पर्नुभयो । तर पछि सर्वोच्च अदालतले उक्त आयोगलाई नै खारेज गरिदिएपछि देउवा जेल मुक्त भएका थिए ।
२०६२÷६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको पार्टी पुनः नेपाली कांग्रेसमा एकीकृत भयो । नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुनः चौथो पटक प्रधानमन्त्री बन्नुभयो । देउवाकै पालामा नेपालमा नयाँ संविधान लागु भएपछिको पहिलो आम निर्वाचन सम्पन्न भयो ।
निर्वाचनमा कांग्रेस नराम्रोसँग पराजित भयो । बामपन्थी गठबन्धनले दुई तिहाई नजिकको बहुमत ल्याएपछि नेकपा एमालेका नेता केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो । तर पार्टीको आन्तरिक किचलोले ओलीले संविधान विपरित दुई पटक संसद विघटन गर्नुभयो । ओलीको कदम विरुद्ध राजनीतिक दल र सांसदहरु समेत सर्वोच्च गए । सर्वोच्च अदालतको संवैधानिक अदालतले गत असार २८ गते ओलीको कदम खारेज गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरे । सोही अनुसार देउवा नेपालको पाँचौं पटक प्रधानमन्त्री बन्नुभयो ।
देउवा पहिलो पटक २०७२ साल फागुनमा भएको १३ औं पार्टी महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै नेपाली कांग्रेसको सभापति बन्नुभएको हो । यसअघि २०५७ सालको पोखरा महाधिवेशनमा देउवा कोइरालाविरूद्ध नै सभापतिमा उठेका थिए तर उहाँ पराजित हुनुभएको थियो । आफ्नो नेतृत्वमा गठन भएको कांग्रेस प्रजातान्त्रिकको दुई पटक सभापति बन्नुभएका देउवा पार्टी एकिकरणपछि कांग्रेसको १२ औं महाधिवेशनमा सुशिल कोइरालासँग पराजित हुनुभएको थियो ।