थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पुस १ गतेदखी भारी छुटका साथ विस्तार ओ. पि. डि सेवा शुरु हुने

भक्तपुर, मंसिर २९
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले भोली पुस १ गतेदेखी विस्तारित ओ. पि. डि. सेवा शुरु गर्ने भएको छ । साथै अस्पतालले स्थानीय मध्यपुर थिमि नगरवासीलाई विशेष छुटको प्याकेज समेत ल्याएको छ ।
अस्पतालले गत असोज १ गतेदेखी स्वास्थ्य विमाको सेवा स्थगित गरेको थियो । स्वास्थ्य विमा वापतको करिव ९ करोड रुपैंया भुक्तानी नहुँदा अस्पतालमा आर्थिक संकट आएको भन्दै अस्पतालले सो रकम भुक्तानी नभएसम्म विमाको सेवा बन्द गरेको थियो ।
सोही कारण अस्पतालमा विरामीको चाप घट्न थालेपछि अस्पताल प्रशासनले बुधवार पत्रकार सम्मेलन गरी विस्तारि ओ. पि. डि. सेवा र नगरवासीलाई छुटको विशेष प्याकेज सार्वजनिक गरेको हो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् नगरप्रमुख मदनसुन्दर श्रेष्ठले विस्तारित ओ. पि. डि. सेवा अन्र्तगत पुस १ गतेदेखी दैनिक बिहान र बेलुकी पेईङ क्लिनिक सेवा शुरु हुने भएको छ । जसअनुसार प्रत्येक दिन बिहान ८ बजेदेखी १० बजेसम्म र बेलुकी ३ बजेदेखी ५ बजेसम्म पेईङ क्लिनिक सञ्चालन हुनेछ । पेईङ क्लिनिकमा विरामी दर्ता शुल्क नयाँलाई ४५० र पुरानोलाई ४०० रुपैंया लिईनेछ ।
त्यसैगरी प्रत्येक दिन बिहान १० बजेदेखी दिउँसो ३ बजेसम्म सामान्य ओ. पि. डि. सञ्चालन हुनेछ, जसमा दर्ता शुल्क भारी छुट गरिएको छ । सामान्य ओ. पि. डि.मा यसअघि लिने गरेको ४ सयको सट्टा नयाँ दर्तालाई १२५ र पुरानो विरामीलाई ७५ रुपैंया शुल्क तोकिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पतालले विरामीको चाप बढाउन विशेष छुटको प्याकेज समेत सार्वजनिक गरेको छ । अस्पतालले विभिन्न मापदण्ड निर्धारण गरी सेवा सुविधामा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ ।
अस्पतालले मध्यपुर थिमि नगरवासीलाई अस्पतालले दिने सेवामा १० प्रतिशत छुट दिने भएको छ । त्यसैगरी ७० वर्ष माथिका मध्यपुर थिमि नगरवासी ज्येष्ठ नागरिकलाई ७० प्रतिशत र ८० वर्ष माथिकालाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. ज्ञानकृष्ण काष्यथले अस्पतालमा भर्ना भएका विरामीलाई औषधी खरिदमा बाहेक अन्य सेवा बेड शुल्क, शल्यक्रिया शुल्क, ल्याव जाँच आदीमा १० देखी ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको स्पष्ट पार्नुभयो ।
अस्पतालले विभिन्न सेवाको बिस्तार गरिरहेको बताउँदैं डा. कायष्थले निकट भविष्यमा सिटी स्क्यान, एम. आर. आई. सेवा सञ्चालन हुने जानकारी दिनुभयो । अस्पतालले अत्यन्त न्यून शुल्कमा ठूला ठूला नीजि अस्पतालले दिन नसक्ने सेवा दिईरहेको बताउँदैं डा कायष्थले अस्पतालले सेवा गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाउनुभयो ।
‘अस्पतालले उच्च गुणस्तरको सेवा दिई रहेको छ । हामीले दिने सेवा कुनै नीजि नाम चलेका ठूला अस्पतालको भन्दा कम छैन । एउटा सामान्य वेड चार्जमा समेत नीजि अस्पतालले अचाक्ली शुल्क लिने गरेको अवस्थामा हामीले सोही स्तरको वेडको शुल्क दैनिक ४ सय मात्र लिने गरेका छौं,’ उहाँले भन्नुभयो । उहाँले वेडको शुल्कमा चिकित्सक र नर्सिङ शुल्क समेत जोडिएको जानकारी दिनुभयो ।
सो अवसरमा नगरप्रमुख श्रेष्ठले स्वास्थ्य विमा वापतको रकम भुक्तानी हुने बित्तिकै पुनः सो सेवा सूचारु गर्ने प्रतिवद्धता जनाउँदैं अस्पतालको आर्थिक अवस्थालाई मध्यनजर गरी बाध्यतावस सो सेवा स्थगित गर्नुपरेको बताउनुभयो । ‘एक महिनामा करिव ३ करोड बराबरको स्वास्थ्य विमाको सेवा प्रवाह हुने गरेको तथ्यांक छ । असोजमा यो सेवा स्थगित नभएको भए अहिले बक्यौता १५ करोड पुग्ने थियो । यसले अस्पतालमा आर्थिक संकट आउने थियो,’ उहाँले भन्नुभयो, ‘त्यसैले यो सेवा स्थगित गरेका हौं ।’
उहाँले स्वास्थ्य विमाको सेवा स्थगित भएसँगै अस्पतालमा विरामीको चाप घटेपनि सुनसानै हुने गरी नघटेको दावी गर्नुभयो । ‘अहिले पनि दैनिक ३ देखी ४ सय विरामी ओ. पि. डि. मा सेवा लिने आउने गरेको छ । अन्तरंग सेवा अन्तर्गत ९० प्रतिशत वेड भरिभराउ छ,’ उहाँले भन्नुभयो ।
स्वास्थ्य विमाको सेवा बन्द हुँदा नगरवासीलाई मर्का परेको र अफ्ठ्यारो परिस्थिती उत्पन्न भएको भन्ने जनगुनासोलाई हल गर्न अस्पतालले छुटसहितको प्याकेज ल्याएको नगरप्रमुख श्रेष्ठले स्पष्ट पार्नुभयो । उहाँले यो छुटको सुविधा मध्यपुर थिमि नगर बाहिरका सेवाग्राहीले नपाउने पनि प्रष्ट पार्नुभयो ।
उहाँले अस्पतालले स्वास्थ्य विमा जस्तै विशिष्ट प्रकारको छुट्टै कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी समेत दिनुभयो । ‘नेपाल सरकारले स्वास्थ्य विमा ल्याउनु अघि त्यस्तै विमा सेवा अस्पतालले सञ्चालन गरेको थियो । पुनः त्यस्तै कार्यक्रम ल्याउने गृहकार्य भइरहेको छ,’ उहाँले भन्नुभयो ।
स्वास्थ्य विमाको भुक्तानी पाउन धेरै झन्झटिलो प्रणाली, कर्मचारीको काम नगर्ने प्रवृत्ति र समयमा भुक्तानी नहुने समस्याले धेरै अस्पतालले सेवा स्थगित गर्नुपर्ने अवस्थामा पुगेको दावी गर्दै नगरप्रमुख श्रेष्ठले यस्तै अवस्था रहे सरकारको अत्यन्त राम्रो कार्यक्रमको रुपमा रहेको स्वास्थ्य विमा असफल हुने बताउनुभयो ।