भक्तपुर कांग्रेसको महासमिति सदस्यको नतिजा उल्टियो

भक्तपुर, मंसिर १५
नेपाली कांग्रेस भक्तपुरको निर्वाचन समितिले आफ्नो पहिलो निर्णय उल्ट्याउँदै विजयी घोषित गरेका उम्मेदवारलाई पराजित घोषणा गरेको छ । भक्तपुर क्षेत्र नं. २ को सोमवार सम्पन्न जिल्ला अधिवेशनमा महासमिति सदस्यको लागि भएको निर्वाचनको मत परिणाम उल्ट्याउँदैं समितिले पहिले पराजित घोषित उम्मेदवारलाई विजयी घोषणा गरेको हो ।


महासमिति सदस्य खस आर्यतर्फ समितिले लछुराम न्यौपानेलाई विजयी घोषणा गरेको थियो । सहायक निर्वाचन अधिकृत शहदेव साखकर्मी र प्रमुख निर्वाचन अधिकृत एवम् केन्द्रीय प्रतिनिधि वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलले हस्ताक्षर गरी प्रकाशित नतिजामा न्यौपानेलाई २९७ मतका साथ विजयी घोषणा गरेको थियो । न्यौपानेका प्रतिष्पर्धी उमेश खड्काले २८८ मत प्राप्त गरेको घोषणा गरेको थियो ।


समितिले सो निर्णय उल्ट्याउँदैं खड्कालाई विजयी र न्यौपाने पराजित भएको घोषणा गरेको छ । समितिले नतिजा सच्याउँदैं खड्काले २८८ र न्यौपानेले २६६ मत प्राप्त गरेको घोषणा गरेको हो ।
यस सम्बन्धमा समितिका प्रमुख निर्वाचन अधिकृत एवम् केन्द्रीय प्रतिनिधि मुकुन्द शर्मा पौडेलसँग टेलिफोन सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनु भएन ।