पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसैको हार जित हुँदैन ः सभापति थापा

भक्तपुर, मंसिर १५

नेपाली कांग्रेस भक्तपुरका नवनिर्वाचित जिल्ला सभापति दुर्लभ थापाले पार्टीलाई भक्तपुरमा पहिलो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ ले बुधवार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सभापति थापाले पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसैको हार जित नहुने समेत स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “पार्टीको नेतृत्व लिने सवालमा लोकतान्त्रिक विधि अपनाउँदा कोही अघि कोही पछि पर्नु स्वभाविक प्रक्रिया हो । यसमा कसैको हार वा जित भन्ने हुँदैन ।” सभापति थापाले सबै पक्षलाई समेटेर सहकार्य गर्दै पार्टीलाई एकतावद्ध ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टीलाई विजयी बनाउनुको विकल्प नभएको बताउनुभयो । “विगतमा पार्टी पराजित हुँदा भोग्नु परेको तितो यथार्थ र अफ्ठ्यारा परिस्थितीलाई आम कांग्रेसका नेता कार्यकर्ताहरुले भोगेका छन । यसपटक पार्टीलाई विजयी बनाउनुको विकल्प छैन, उहाँले भन्नुभयो, पार्टीको आन्तरिक प्रतिपष्पर्धाका क्रममा भएका तितामिठा घटनालाई भुलेर एकतावद्ध भएर पार्टी संगठनमा लाग्न आग्रह गर्छु ।
कार्यक्रममा बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, नेपाली कांग्रेस महासमिति सदस्य मदनकृष्ण श्रेष्ठ, वरिष्ठ नेताहरु सुरेन्द्र के सी, कविर राणालगायतले बोल्नुभएको थियो ।
नेपाली कांग्रेुस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशसभा भक्तपुर १ (ख)का सभापति जयन्द्र खड्काले स्वागत गर्नुभएको थियो । कार्यक्रममा सभापति थापाले नेपाली कांग्रेस भक्तपुरका चार स्थानीय तहका ३८ वटै वडामा विजयी सभापति एवम् पदाधिकारीहरुलाई फुलको माला लगाई सम्मान गरिएको थियो ।