नेपाली कांग्रेस १४ औं महाधिवेशन – लामाको प्रस्ताव र थापाको समर्थनमा बागमति प्रदेशको सभापतिमा बाँनियाको उम्मेदवारी घोषणा

काठमाण्डौं, मंसिर १५
नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बाँनियाले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँको उम्मेदवारीको प्रस्तावकमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा र समर्थकमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा सहनुभएको छ ।
उम्मेदवारी घोषणा गर्दै बानियाँले बागमती प्रदेशको उन्नती र प्रगतिको लागि आफूले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसलाई जनमुखी बनाउन र सबैलाई आफ्नो पार्टी भन्ने विश्वास दिलाउनको लागि पनि हामीले भोलिका दिनमा अझै सशक्त भूमिका खेल्नुपर्नेछ । परिवर्तनको आन्दोलनदेखि संविधान जारी र यसको कार्यान्वयनसम्म आउँदा यो अवधिसम्म कांग्रेसले लोकतान्त्रिक मुल्य र मान्यतामा देशलाई डोर्याएको छ ।’
उहाँले कांग्रेसले लिएको विचार र नीतिका कारण पार्टीमा ठूलो उभार र लहर आएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस गरिब, किसान र मजदुरको पार्टी हो । यो कुरा गर्ने पार्टी होईन, काम गर्ने पार्टी हो । कम्युनिष्टबाट सपनाको पोकै पोका, जनतालाई धोकै धोका भयो । हामी त्यस्तो गर्दैनौं । हिजो जनताले कम्युनिष्टलाई प्रचुर बहुमत दिएकै हुन्, तर प्रचुर बहुमत पाएर नेकपाले केही गर्न सकेन् । बरु, जनतामा निराशा छायो ।’
बानियाँले बागमति प्रदेशमा कांग्रेस जनताको भरोसायोग्य पार्टी भएको र अझै आगामी दिनमा झनै जनताको पक्षमा खरो उत्रिने पनि विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘हामी यो प्रदेशलाई समृद्ध बनाउन चाहन्छौं । प्रदेशमात्रै होईन, अब कांग्रेसको नेतृत्वमा देशलाई नै समृद्ध बनाउन चाहन्छौं । कांग्रेसले धर्म र राजा खोज्ने सबैलाई जोड्ने काम गरेको छ ।’
बानियाँका समर्थक काभ्रेका सभापति तीर्थ लामाले नेपालको स्थायी शक्ति नै नेपाली कांग्रेस भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस नै नेपालको स्थायी शक्ति हो । नेपाली जनताले चाहेको समाज यो पार्टीले बनाउन सक्छ भनेर आज तमाम बुद्धिजिवी, फरक–फरक क्षेत्रका चर्चित व्यक्तित्वहरु यसमा लामबद्ध भएर लागेका छन् । यो पार्टीले मात्रै बेरोजगारी अन्त्य गर्न स्क्छ भन्ने विश्वास छ ।’
उहाँले बानियाँलाई जुझारु नेताको रुपमा चित्रण गर्नुभयो । उहाँले बानियाँलाई जिताउनको लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने भन्दै सोहीअनुसार गृहकार्यमा जुट्न पनि आग्रह गर्नुभयो ।
त्यस्तै, बानियाँको उम्मेदवारीको समर्थक भक्तपुरका सभापति दुर्लभ थापाले पनि बानियाँ योग्य र सक्षम उम्मेदवार भएको भन्दै जिताउनको लागि सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज हामी ऐतिहासिक क्षणमा छौं । कांग्रेसले पहिलोपटक ईतिहासमै संघीय संरचनाअनुसार प्रदेश अधिवेशन सम्पन्न गर्दैछ, भोलि ७ वटै प्रदेशको अधिवेशन सुरु हुँदैछ । बागमति प्रदेशको अधिवेशन सुरु हुनुअघि बागमति प्रदेशको हाम्रो टिमबाट सभापतिमा बानियाँलाई अघि बढाएका छौं ।’
उहाँले आफूहरुले धेरै लामो छलफलपछि आफूहरुको समूहबाट प्रदेश संसदीय दलका नेता रहेका बानियाँलाई प्रदेशको सभापतिको उम्मेदवारको रुपमा अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै साथीहरु आ–आफ्नो क्षेत्रबाट उहाँलाई जिताउनको लागि खटिनुहुनेछ भन्ने विश्वासको साथ ईन्द्र बानियाँलाई म समर्थन गरेको घोषणा गर्दछु । र, महाधिवेशनको तयारी र उहाँलाई जिताउने तयारीमा जुटन् आग्रह गर्दछु ।’
उक्त घोषणा कार्यक्रममा नेताहरु बहादुरसिंह लामा, पुर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा, बागमति प्रदेशका सांसद कल्पना नेपाली, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, ललितपुर जिल्लाका निवर्तमान सभापति मदन अमात्य र रामेछापका सभापति कान्छाराम तामाङलगायतका नेताहरुको बाक्लो उपस्थिति थियो ।