श्रीमानको हत्यामा संलग्न ७ वर्षपछि पक्राउ

भक्तपुर, मंसिर १४
श्रीमानको हत्यामा संलग्न महिला ७ वर्षपछि पक्राउ परेको छ । महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले दाङ, तुलसीपुर नगरपालिका–१० का द्रोणबहादुर सेनको हत्या गरेको आरोपमा उनकी श्रीमती ५० वर्षिया दिलकुमारी सेनलाई मंगलवार काठमाण्डौं बानेश्वरबाट पक्राउ गरेको हो ।
काठमाण्डौं महानगरपालिका १० थापागाउँ बस्ने द्रोणबहादुर वि. सं. २०७१ चैत्र ९ गते धोवीखोलास्थित सिम्रिक पुल मुनि टाउकोमा चोट लागेको अवस्थामा मृत फेला परेको थियो ।


प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा रामेछाप, गोकुलगंगा गाउँपालिका–४, काफ्लेटोलका ५४ वर्षिय भिमे सार्कीलाई वि. सं. २०७७ फागुन ५ गते पक्राउ गरेको थियो । प्रहरीका अनुसार सार्कीले द्रोणबहादुरकी श्रीमतीसँग मिलेर ईट्टाले टाउकोमा प्रहार गरी हत्या गरेका थिए । घटनापछि फरार मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरी काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएकोमा हाल पुर्पक्षका लागि जेलमा रहेको महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले बताउनुभयो ।
सो मुद्दामा फरार रहेकी मृतककी श्रीमती दिलकुमारीलाई गोप्य सूचनाको आधारमा बानेश्वरबाट पक्राउ गरिएको एसपीले पंगेनीले बताउनुभयो । पक्राउ परेका आरोपीलाई थप अनुसन्धान गरी कारवाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वर पठाईएको छ ।