भक्तपुरमा मंसिर १७ गतेदेखी स्थानीय तहमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन हुने

भक्तपुर, मंसिर १४
भक्तपुरमा यही मंसिर १७ गतेदेखी स्थानीय पालिकाको केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । निर्वाचन आयोगको निर्देशन र जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलहरुसँग छलफल गरी मंसिर १७ गतेदेखी मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
जिल्लाका चार स्थानीय तह मध्ये पहिलो चरणमा मध्यपुर थिमि नगरपालिका र चाँगुनारायण नगरपालिकामा कार्यक्रम हुने जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो । “मंसिर १७ गतेदेखी १५ दिन पहिलो चरणको कार्यक्रम अन्तर्गत मध्यपुर थिमि र चाँगुनारायणमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन हुनेछ,” कुँवरले भन्नुभयो ।
कार्यक्रमको दोस्रो चरण अन्तर्गत सूर्यविनायक नगरपालिकामा नामावली संकलन गरिने छ । भक्तपुर नगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाटै नामावली संकलन गरिने कुँवरले बताउनुभयो ।
मतदाता नामावली दर्ता प्रक्रियामा आम नागरिकको पहुँचलाई सहज बनाउने उद्देश्यले हाल नियमित भइरहेको मतदाता नामावली संकलन कार्यलाई निरन्तरता दिँदै स्थानीय तहको केन्द्रमा पनि मतदाता नामावली संकलन गर्न लागिएको हो, कुँवरले भन्नुभयो ।
अर्को व्यवस्था नभएसम्म हाल नियमित मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट निरन्तर मतदाता नामावली संकलन कार्य सञ्चालन हुनेछ ।
त्यस्तै भक्तपुर जिल्ला बाहिर ठेगाना भई अन्य जिल्लाको ठेगानामा मतदाता नामावली संकलनको लागि आयोगको अर्को निर्देशन नहुँदा सम्म निरन्तर सञ्चालन गरिने छ । मतदाता नामावलीमा भएको त्रुटि सच्याउने तथा मतदाता नामावली सार्ने कार्य जिल्ला निर्वाचन कार्यालयबाट गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर जिसीले बताउनुभयो ।
मतदाता नामावलीमा नाम समावेश गर्न नागरिकताको सक्कलसँगै छायाँप्रति पनि आवश्यक हुने जिसीले बताउनुभयो । नागरिकतामा स्थाई ठेगाना अन्य जिल्लाको भएमा बसाई सराइ प्रमाणपत्र वा विवाह भई आएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्नेछ ।
भक्तपुरमा २०७७ पौष ५ गते १८ वर्ष उमेर पुगेका एक लाख ८४ हजार ३७१ मतदाता छन । भक्तपुरमा ७७ मतदान स्थल र २१५ मतदान केन्द्र छन । स्थानीय तह मध्ये भक्तपुर नगरपालिकामा ५६ हजार ५२६, सूर्यविनायक नगरपालिकामा ४५ हजार ६९२, मध्यपुर थिमि नगरपालिकामा ४० हजार ९४५ र चाँगुनारायण नगरपालिकामा ४१ हजार २०८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।