आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा – कुवेतमाथि नेपालको शानदार जित

भक्तपुर, मंसिर ९
आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कुवेतमाथि शानदार जित निकालेको छ । युएईको दुवईस्थित आइसीसी एकेडेमीको मैदानमा बिहिवार बिहान सम्पन्न खेलमा नेपालले कुवेतमाथि ९९ बल बाँकी छँदै ९ विकेटको शानदार जित निकालेको हो ।
कुवेतले दिएको २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले शुरुमै झट्का व्यहोरेको थियो । नेपालका ओपनर सिता रानामगर पहिलो ओभरमा शुन्यमा आउट भए । उनलाई मारिया जास्भीले बोल्ड आउट गरे । नेपालको जितमा ओपनर ईन्दु बर्माले सर्वाधिक ८ बलमा १३ रन बनाए । त्यस्तै कप्तान रुविना क्षेत्रीले १० बलमा १२ रनको योगदान दिए ।
खेलमा टस जितेर पहिला व्याटिङ गरेको कुवेत २७ रनमा अलआउट भएपछि नेपालले जितका लागि २८ रनको सामान्य लक्ष्य पाएको हो ।
कुवेती महिला टोली १५.४ ओभरमा २७ रन बनाई अल आउट भयो । कुवेतकी ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाईन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालकी स्पिनर संगिता राईले २.४ ओभरमा २ मेडन सहित कुनै रन नदिई ३ विकेट लिइन् । स्पिनर करुणा भण्डारीले ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ३ ओभरमा २ मेडन सहित १ रन खर्चेर २ विकेट लिइन् । सरस्वती कुमारीको नाममा १ विकेट रह्यो ।
नेपाल आज कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।