आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई जितको लागि २८ रनको लक्ष्य

भक्तपुर, मंसिर ९

आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई जितको लागि २८ रनको लक्ष्य पाएको छ । आइसीसी एकेडेमी दुबईमा जारी खेलमा टस जितेर पहिला व्याटिङ गरेको कुवेत २७ रनमा अलआउट भएपछि नेपालले जितका लागि २८ रनको सामान्य लक्ष्य पाएको हो ।

कुवेती महिला टोली १५.४ ओभरमा २७ रन बनाई अल आउट भयो । कुवेतकी ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाईन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालकी स्पिनर संगिता राईले २.४ ओभरमा २ मेडन सहित कुनै रन नदिई ३ विकेट लिइन् । स्पिनर करुणा भण्डारीले ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ३ ओभरमा २ मेडन सहित १ रन खर्चेर २ विकेट लिइन् । सरस्वती कुमारीको नाममा १ विकेट रह्यो ।

नेपाल आज कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ । नेपाललाई शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्न बाँकी तीन खेलमा जित्नुपर्ने हुन्छ ।