चोरीमा संलग्न र चोरीका सामान खरिद बिक्री गर्ने चार भारतीय नागरिक पक्राउ

भक्तपुर, मंसिर ३
भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । सो उद्योगमा कार्तिक ३० गते राती चोरी भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार भारतिय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको हैदरावाद घर भई हाल काठमाण्डौ महानगरपालिका – ९, ९ सिनामंगल बस्ने १८ वर्षिय राजु गिरी र बैंकटेस गिरी, भारतको मोतिहारी घर भई हाल काठमाण्डौ महानगरपालिका ३२ बानेश्वर बस्ने ३० वर्षिय मुन्ना साह र ३५ वर्षिय नारद साह हुन ।
प्रहरीका अनुसार सल्लाघारीस्थित दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगबाट राजु र बैंकटेसले करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरु चोरी गरेका थिए । उनीहरुले चोरीका सामान काठमाण्डौको सिनामंगलस्थित मुन्ना साहले सञ्चालन गरेको कवाडी पसलमा बेचबिखन गरेको पाईएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो । सो घटनामा नारद साहले चोरीको सामान बेचबिखन गर्न मुन्ना साहको सहयोगीको रुपमा काम गरेका थिए ।
प्रहरीले उनीहरुको साथबाट ढलौटको करुवाको बैठक २९ के.जी. ५०० ग्राम, करुवाको मुख ७४ के.जी., पानसको डण्डी ४७ के.जी. र कच्चा पदार्थ ४८ के.जी. समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका चारै जना विरुद्ध भक्तपुर जिल्ला अदालतमा चोरी मुद्दामा पेश गरी ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेका प्रनाउ गिरीले बताउनुभयो ।