माझखण्ड धातुचैत्य विहारमा ऐतिहासिक रुपमा कथिन चीवर दान सम्पन्न

सुनीता तुलाधर, मंसिर ३ गते शुक्रवार, ललितपुर

२० वर्षको अटुट मेहेनत र कठोर परिश्रमले निर्माण भएको माझखण्ड धातुचैत्य विहार, माझखण्ड, इकुडोल, ललितपुरमा ने. सं. ११४२ कछलाथ्व त्रयाेदशी अर्थात मंसिर १ गते बुधवारका दिन ऐतिहासिक रुपमा प्रथमपटक कथिन चीवर दान सम्पन्न भएको छ ।
भिक्षु बोधिज्ञान महास्थविरले सो विहारमा विनयपूर्वक ३ महिना सफलतापूर्वक वर्षावास सम्पन्न भएको अवसरमा कथिनदाता पूर्ण रत्न बज्राचार्य र माझखण्ड धातुचैत्य विहार परिवारको आयोजनमा उक्त कथिन चीवर दान आयोजना गरिएको हो ।

भिक्षु उपतिस्स महास्थविरले उपस्थित श्रद्धालु उपासकउपासिकाहरुलाई पञ्चशील प्रदान गर्नुभएपछि शुभारम्भ भएको सो उत्सवमा भिक्षु उदयभद्र महास्थविरले बुद्धपुजा गराउनुभएको थियो ।

उक्त विहारमा वर्षावास बस्ने अवसरको बारेमा बोल्नु हुँदै भिक्षु बोधिज्ञान महास्थविरले माझखण्डमा वर्षावास बस्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहेकै समयमा धर्मराज लामा र चन्द्रबहादुर स्यांगतांगको प्राथना पछि आफू विहारमा वर्षावासको लागि आएको बताउनुभयो । कोरोनाले आक्रान्त पारेको समयमा पनि कथिनदाताले कथिनदान गर्ने जिम्मा लिएपछि वर्षाका कारण आएको बाढी र पहिरोको परवाह नगरी काठमाण्डौबाट कलवनसम्म मोटरबाट र त्यहाँबाट ५ घण्टा हिंडेर ललितपुरको दक्षिणभेगमा रहेको माझखण्ड धातुचैत्य विहार आइपुगेको भिक्षु बोधिज्ञानले बताउनुभयो ।

उहाँले वर्षावासको अवधिमा माझखण्ड र इकुडोलका स्थानीय बासिन्दाहरु मेमे, मामहरुले आफूलाई छोरा, नाति, दाजुभाई जस्तै ठानी सेवा सहयोग गरेकोमा साधुवाद पनि दिनुभयो ।

 

कार्यक्रममा भिक्षु कोण्डन्य महास्थविरले बीचबीचमा स्थानीय तामाङ भाषा पनि मिसाउँदै धर्मदेशना दिनुभएको थियो । धर्मदेशनाको क्रममा उहाँले ‘भिक्षु बोधिज्ञान भन्ते यहाँ वर्षावास बस्नु भएको ३ महिना अवधिमा विभिन्न गतिविधिहरु सञ्चालन गर्नुभई सामाजिक सञ्जालहरुमार्फत पनि प्रचार प्रसार गरिएकोले धेरै बौद्धमार्गीहरुलाई माझखण्ड बिहार आकर्षणको केन्द्र बनेको बताउनुभयो । उहाँले यस कार्यले माझखण्ड बिहारको प्रचार प्रसार भएकाले आगामी वर्षपनि भिक्षु बोधिज्ञानलाई वर्षबासको लागि आग्रह गर्नुभयो ।

उहाँले बुद्धको जन्मभूमि नेपाल भनेर नाक चुच्चो पारेर मात्र नपुग्ने बताउँदैं भन्नुभयो, ‘भगवान बुद्धले प्रतिपादन गर्नुभएको जीवनोपयोगी उपदेश जस्ले सामाजिक रुपान्तरण गर्नसक्छ, जीवनमा सुख समृद्धि प्राप्त गर्न सकिन्छ । राष्ट्रको मुहार फेर्न सकिन्छ । यसलाई दैनिक जीवनमा विधिव्यवहारमा हामीले मात्र नभई नेपाल सरकारले पनि गर्नुपर्छ ।’
उहाँले मकै रोपेर भ्यान्टा नफल्ने उदाहरण प्रस्तुत गर्दै बुद्धको शिक्षा अनुसार जस्तो बीऊ रोपिन्छ, त्यस्तै फल प्राप्त हुने भएकोले राम्रो फल पाउन अहिलेको हाम्रो जीवनमा राम्रो हुने प्रयास गरिरहनु पर्नेमा जोड दिनुभयो ।

माझखण्ड विहारका संस्थापक अध्यक्ष ८० वर्षीय चन्द्रबहादुर स्यांगतांगले आफू बुद्ध धर्मप्रति जटिल भन्तेको सत्संगले प्रभावित भएको चर्चा गर्दै बुद्धधर्मको प्रचारप्रसारमा सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमति प्रदेशका सांसद शोभा शाक्यले राजधानी सँगै रहेतापनि विकट रहेको माझखण्ड क्षेत्रमा बाटोघाटो निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।

बागमति गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्सांगले चन्द्रबहादुरको सक्रियतामा निर्माण भएको विहारलाई थप सक्दो सहयोग गर्ने बताउनुभयो । माझखण्ड परिसरमा केवलकारको अवधारणा पनि आइरहेकोले यस क्षेत्रमा आवतजावतको सुविधा हुने बताउँदै उहाँले हाल भएको बाटोको स्तर उन्नतिको लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा उपासकउपासिकाहरुले अष्ट परिष्कार पनि दान गरेका थिए । साथै वर्षावास सफलतापूर्वक बस्नुभई विभिन्न धार्मिक गतिविधि संचालन गर्नुभएकाले भिक्षु बोधिज्ञान महास्थविरलाई विहारका तर्फबाट कदरपत्र प्रदान गरिएको थियो भने विहारमा ३ महिना नै बसी भन्तेको सेवा गर्नुभई कथिन दान गर्नुभएका पुण्य रत्न बज्राचार्यलाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै बुद्धधर्म विकास र विहारका लागि सहयोग गर्नुहुने बागमति गाउँपालिकाका अध्यक्ष लोप्सांग, प्रदेशसभा सदस्य शाक्यसहित धर्मराज लामा, नवराज तिमिल्सिना, प्रकाश महर्जन, गोविन्द महर्जन लगायत सञ्चारमाध्यमहरु इन्यूजअफ डट कम, न्यूजअफ साप्ताहिक, नेपाल फाइभ, बोधि टिभि, बोधिरत्न फेसबुक च्यानललगायतलाई मायाको चिनोका साथ सम्मान गरिएको थियो ।

सो कार्यक्रमको शुरुवातमा कथिन चीवरलाई माझखण्डको स्थानीय क्षेत्रमा उपासकउपासिकाहरुका साथ शोभायात्रा गरिएको थियो ।

माझखण्ड धातुचैत्य बिहार ललितपुरको अति विकट क्षेत्रमा रहेको छ । कथिन चीवरदानका लागि उपत्यकाबाट तीनवटा बस, अन्य दर्जनौ साना नीजि सवारी साधनमा सयौं भिक्षु, उपासकउपासिका र सञ्चारकर्मी माझखण्ड धातुचैत्य विहार पुग्दा उत्सव र मेला जस्तै देखिएको थियो । स्थानीय वासिन्दाका अनुसार सो क्षेत्रमा यति धेरै बौद्धमार्गी श्रद्धालुहरुको उपस्थिति पहिलो पटक हो ।