संघीय र प्रदेशका भौतिक पुर्वाधार मन्त्रीबीच भेटवार्ता – नगरकोट सडक तोकिएको समयसिमाभित्र निर्माण सम्पन्न नभए ठेक्का सम्झौता रद्ध गर्ने चेतावनी

भक्तपुर, मंसिर १
भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव र बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलबीच बुधवार मन्त्री निवास पुल्चोकमा भेटवार्ता भएको छ । भेटमा दुई मन्त्रीबीच भक्तपुरको नगरकोट सडक निर्माणका विषयमा छलफल भएको बताईएको छ ।
भेटमा मन्त्री भँडेलले जसरी भएपनि सो सडक तोकिएको समयसिमामा निर्माण सम्पन्न हुनुपर्ने माग राखेको वार्तामा सहभागी नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्रीले बताउनुभयो ।
छलफलमा मन्त्री यादवले तोकिएको समयसिमाभित्र सडक निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको खत्रीले जानकारी दिनुभयो । मन्त्री यादवले तोकिएको समयसिमाभित्र निर्माण सम्पन्न नभए ठेक्का सम्झौता रद्ध गरेर कारवाहीको प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएको छ ।
दुई मन्त्रीबीच भएको भेटवार्तामा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्री, निर्माण व्यवसायी महासंघका पूर्व महासचिव रामशरण देउजा, राजकिशोर गुप्ता, भौतिक यातायात तथा पूर्वाधार सचिव रबीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको उपस्थिति रहेको थियो ।
भक्तपुरको विकास निर्माणमा नगरकोट सडक पछिल्लो समय हटकेकको रुपमा रहेको छ । वर्षौदेखी निर्माणकार्य अवरुद्ध भएर लथालिंग रहेको सो सडक भक्तपुरका दलहरुका लागि प्रमुख एजेण्डा समेत बन्दै आएको छ । पछिल्लो समय त्यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्णलाल भँडेल बागमति प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्री नियुक्त भएसँगै सो सडक चर्चाको शिखरमा रहेको छ ।
मन्त्री भए लगत्तै भँडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सो सडक निर्माणका लागि सहयोगको आग्रह गरेको समाचार सार्वजनिक भएसँगै चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रले सो सडक एक महिनाभित्र निर्माण शुरु नभए आन्दोलनको चेतावनीसहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । त्यसयता सो सडक चर्चाको शिखरमा छ ।
केही दिनअघि मन्त्री यादव नगरकोटको सडक निरिक्षण गर्नुभएको थियो । निरिक्षण गरी नगरकोटबाट फर्कनेक्रममा तेलकोटका स्थानीय बासिन्दाले मन्त्री यादवलाई बीच सडकमा रोकेर सडक यथासिघ्र छिटो निर्माण सम्पन्न हुनुपर्ने माग राखेका थिए ।
मन्त्री यादवले सो बेलापनि निर्धारित समयभित्र सडक निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको थियो ।
भारतिय बैंक एक्जिमको सहुलियतपूर्ण ऋण सहयोगमा बिस्तार स्त्तोरन्नती शुरु भएको १६ किलोमिटरको सो सडकको ठेक्का शैलुङ्ग कन्ट्रक्सन र ए आई पी एल जे भी ले पाएको हो । वि. सं. २०७१ साल जेठबाट निर्माणको थालनी भए पनि विभिन्न बहानामा निर्माण कार्य रोकिँदा ६ पटक म्याद थप भइसकेको छ । पछिल्लो समय गत असार मसान्तमा म्याद सकेपनि कोरोना महामारीको बहानामा चैत्रसम्म म्याद थप भएको छ ।