आज जननायक विपी कोइरालाको १०८औँ जन्मजयन्ती

भक्तपुर, भाद्र २४
जननायक विश्वेश्वर प्रसाद (विपी) कोइरालाको १०८ औं जन्मजयन्ती आज देशभर मनाईँदैछ । नेपाली कांग्रेसका संस्थापक नेता विपी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुन ।
नेपालमा प्रजातन्त्र स्थापनाको नेतृत्व गर्नुभएका विपीको जन्म विसं १९७१ भदौ २४ गते जन्म भएको हो । उहाँका पिताजी कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई किसानको मैलो र फाटेको लुगा उपहार पठाएपछि कोइराला परिवार भारतमा निर्वासनमा जानु परेको थियो ।
विपीले भारतको वनारसमा नै शिक्षा दिक्षा प्राप्त गर्नुभयो र भारतको स्वतन्त्रता संग्राममा सहभागी हुनुभयो । भारत स्वतन्त्र भएसँगै नेपालमा राणा शासन विरुद्ध आन्दोलन गर्न र प्रजातन्त्र ल्याउन सहज हुन्छ भन्ने उहाँको विष्लेषणा थियो, सोही अनुसार उहाँ भारतीय स्वतन्त्रता संग्राममा होमिनु भएको थियो ।
विपीले भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्नुभयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेससँग एकता गरी विपीले नेपाली कांग्रेस स्थापना गर्नुभयो र राणा विरुद्ध क्रान्ति गर्नुभयो ।
विसं २००७ को क्रान्तिले सफलता प्राप्त ग¥यो र नेपालमा वि. सं. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भयो । क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा विपी गृहमन्त्री बन्नुभयो । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका विपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराउनुभयो ।
विपीको भुमि सम्बन्धी सुधारका योजनाले आत्तिएका जमिनदार, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका केही अग्रज नेताहरुको साथ सहयोगले विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा तत्कालिन राजा महेन्द्र शाहले जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा सारियो ।
विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्किनुभयो । क्यान्सर रोगले विपीको विसं २०३९ साउन ६ गते निधन भयो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।
नेपाली राजनीतिमा मात्र होइन साहित्यमा पनि विपीको महत्वपूर्ण योगदान रहेको छ । उहाँले नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराको प्रवर्तन गर्नुभयो । उहाँका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन् । विपीका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवम् ‘बाब,ु आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छन् ।
वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।
विपीले लेखेका निबन्ध ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयमा प्रकाशित छ । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररूपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पु¥याउन योगदान दिनुभयो ।