आज हरितालिका तिज मनाईंदै

फाइल तस्विर

भक्तपुर, भाद्र २४
भाद्र शुक्ल तृतीयाको अवसरमा आज सनातन धर्मावलम्बी खसआर्य समूदायका महिलाहरूले हरितालिका तिज पर्व मनाउँदैछन । महादेवको पूजा आराधना गरी अविवाहिता युवतीले ईच्छ्याएको पति पाउन र विवाहिता महिलाले आफ्ना पतिको दिर्घायूको कामना गरी तिज पर्व मनाउने प्रचलन रहेको छ ।
तिजको व्रतमा हिन्दू नारीहरू बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्छन् । हिमालय पर्वत र मेनाकी पुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार र निर्जला व्रत बसी कठिन तपस्या गरेको र त्यसैको प्रभावस्वरूप महादेव पति पाएको पौराणिक कथन छ । यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वासमा महिलाहरू तिजको व्रत बस्छन् ।
व्रतालु महिलाहरू आफ्नो पायक पर्ने शिवालयमा पुगी शिवपार्वतीको पूजा गर्छन् र एक आपसमा नाचगान गरी गितमार्फत मनका बह पोख्ने गर्दछन । सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने गर्छन् । भोलिपल्ट सबेरै लोापामुद्रालाई अघ्र्य दिएपछि तिजको व्रत पूर्ण भएको मानिन्छ ।

फाइल तस्विर

सामाजिक रूपमा पनि तिजको ठूलो महत्व रहेको छ । तिजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनीहरू एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी मिठामसिनो (दर) खाने गर्छन् । तिजका दिन नाचगान गरी घरव्यवहारमा पाएका दुःखकष्टलाई गीतमा उतार्ने गर्छन् । तिजमा गाइने विभिन्न ठाउँका भाका लोकसाहित्यका सम्पत्ति मानिने गरेका छन् । तिजका बेला सौभाग्यका सूचक राता वस्त्र तथा आभूषण लगाउने चलन छ ।

फाइल तस्विर

यसैबीच हरितालिका तिजको अवसरमा विहिबार भक्तपुरको विभिन्न स्थानका महादेव मन्दिरहरुमा ब्रतालु महिलाहरुको घुईंचो लागेको छ । विशेषगरी भक्तपुरको दत्तात्रय, केदारनाथको शिर डोलेश्वर, दरवार स्क्वायरको पशुपति मन्दिर, आशापुरी, सुवर्णेश्वर, अन्नतलिङ्गेश्वर, शिलु र यातु महादेव मन्दिरमा ब्रताल महिलाहरुको घुईंचो लागेको हो ।
तिजको दिन महिलाहरु रातो पहिरण, छड्के तिलहरी र विभिन्न गरगहनाले सजिएर निराहार व्रत बसी महादेव मन्दिर आउने गर्छन् । आजको दिन महिलाहरु व्रत बस्नाले अटल सौभाग्य र सदासर्वदा भरिभराउ, श्रीमान् र परिवारजनको सुस्वास्थ्य दिघायू हुने जनविश्वास रहेको पाइन्छ ।
तिजको दिन पार्वतीले भगवान् शिव वर प्राप्त होस भनी मनोकाक्षा राखेर व्रत बसेपछि चलन रही आएको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।