डेब्यु खेलमा सविता र प्रिती चम्केपछि बंगलादेशविरुद्ध नेपालको जित

भक्तपुर, भाद्र २४
डेव्यु खेलमा सविता राना मगर र प्रिती राईले गोल गरेपछि नेपालले बंगलादेश विरुद्धको पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलमा २–१ को जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा सविताले १४ औं मिनेटमा र प्रितीले २३ औं मिनेटमा नेपालका लागि गोल गरे । बंगलादेशका लागि खेलको ८४ औं मिनेटमा तोहुरा खातुनले एक गोल फर्काइन ।
सविताले बिमला चौधरीको क्रसमा बंगलादेशकी गोलरक्षक रुप्ना खातुन र डिफेन्डरलाई बिट गर्दै हेडर मार्फत बललाई जाली चुमाएकी थिइन् । २३औं मिनेटमा अर्का डेब्यु मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सरु लिम्बुले दिएको चलाखीपुर्ण पासमा प्रितीले एक डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गोलरक्षक रुप्ना खातुन अघि बढेको अवस्थामा उत्कृष्ट गोल गरेकी थिइन ।

खेलको पहिलो हापमा नेपालले बंगलादेशलाई दवाबमा राखेपनि बिस्तारै बंगलादेशले पनि खेलमा पकड जमाएको थियो । दोस्रो हापमा लगातार नेपालमाथि आक्रमण बुनेको बंगलादेशले केही राम्रा अवसर पनि सिर्जना गरेको थियो । पहिलो हापमा केही फुर्सदिला देखिएका नेपाली गोलकिपर एञ्जिला तुम्बापो सुब्बा दोस्रो हापमा केही व्यस्त देखिए । विशेषगरी बंगलादेशी कप्तान खातुन र श्रीमोती सरकारको तालमेलले नेपाली रक्षापंक्ति र गोलरक्षकलाई व्यस्त राखेका थिए ।
४९औं मिनेटमा सरु लिम्बुले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासमा प्रितीले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहारलाई बंगलादेशी गोलरक्षक चक्माले पञ्च गर्दै बचाए ।


खेलको ६९औं मिनेटमा मोसामत सोप्नाले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी बक्सभित्रबाट दिएको क्रसलाई रितु पोर्न चक्माले हेड प्रयास गरेपनि भेटाउन नसक्दा नेपालको खतरा टरेको थियो । ७९औं मिनेटमा श्रीमोती सरकारको प्रहारलाई नेपाली टोलीकी गोलरक्षक एन्जिलाले पञ्च गर्दै बचाए । दोस्रो हाफमा नेपालले रक्षात्मक रणनीति अपनाउँदा केही दवावम परेको थियो ।
नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपुर्ण खेल आइतबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी एसियन कप २०२२ छनोट प्रतियोगिताको तयारी स्वरुप नेपाल र बंगलादेशले दुई मैत्रीपुर्ण खेल खेल्ने तय भएको हो । खेलमा प्रिती मोस्ट भ्यालुएबल खेलाडी घोषित भईन् ।


नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटका लागि उज्वेकिस्तानमा दुई खेल खेल्नेछ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले १८ सेप्टेम्वरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङको सामना गर्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।