नेपाल एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश

भक्तपुर, फागुन २८
नेपाल एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणको छनोट अन्तर्गत प्यालेस्टाइनमा सम्पन्न समूह ‘बी’ को छनोटमा समूह विजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।
नेपाल आइतवार सम्पन्न खेलमा नर्दन मारियाना आइल्याण्डलाई ६–० ले पराजित गर्दै समूह विजेता बनेको हो । यसअघि नेपालले घरेलु टोली प्यालेस्टाइनलाई पनि ६–० ले पराजित गरेको थियो ।
फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा नेपाललाई नदर्न मारियाना आइल्याण्डविरुद्ध जित दिलाउन दिपा शाही र सरा बज्राचार्यले दुई दुई गोल गरिन् । सरस्वती हमाल र जेनिफर रानाले एक एक गोल गरिन् ।


नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा एक गोल गरेको थियो । खेलको चौथो मिनेटमा दीपा शाहीले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाइन् । छैटौं मिनेटमा सरा बज्राचार्यले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । १९औं मिनेटमा दीपा शाहीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् ।
३०औं मिनेटमा सरस्वती हमालले गाल गरेपछि नेपालले खेलमा ४–० को आरामदायी अग्रता बनाउन सफल भयो । ४५औं मिनेटमा सरा बज्राचार्यले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि नेपालले पहिलो हाफमै ५–० को आरामदायी अग्रता लिएको थियो ।
दोस्रो हाफमा भने नेपालले एक गोल मात्रै थप्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जेनिफर राणाले गोल गर्दै नेपाललाई ६–० को फराकिलो जित दिलाइन् ।


पहिलो चरणबाट ८ समूहको विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।
एएफसी यू–२० महिला एसियन कपमा सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुँदैछ । आयोजक उज्वेकिस्तानसहित २०१९ को विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टोली छनोट भइसकेका छन् ।