पिएनजीविरुद्ध किर्तिमानी जितसँगै नेपाल विश्वकप छनोट खेल्ने संघारमा

भक्तपुर, फागुन २९
नेपाल आइसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताको संघारमा पुगेको छ । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक श्रृंखलामा सोमवार पपुवा न्युगिनी (पिएनजी)लाई ९ विकेटले पराजित गर्दै नेपालले सोझै विश्वकप छनोट खेल्ने संघारमा पुगेको हो ।
आइसीसीको प्रावधान अनुसार लिग २ का शिर्ष ३ टोलीले सिधै विश्वकपको ग्लोबल छनोट खेल्नेछ भने शिर्ष ५ स्थानमा रहेका टोलीहरुको एकदिवसीय मान्यता कायम रहनेछ । नेपाल लिग २ को अंक तालिकामा समूहको चौंथो स्थानमा रहेको छ । यसअर्थ नेपालको एकदिवसीय मान्यता आगामी ४ वर्षको लागि सुरक्षित भइसकेको छ भने अब बाँकी रहेको एक खेल जिते सोझै विश्वकप छनोट खेल्ने पाउनेछ । एकदिवसीय विश्वकप छनोट आगामी जुन जुलाईमा जिम्बावेमा हुने छ ।
नेपाल ३५ खेलमा १८ जित १५ हार १ बराबरी र १ अनिर्णितसँगै ३८ अंक रहेको छ । नेपाल भन्दा अघि नामिविया ३९ अंक रहेको छ । नेपालले लिगको अन्तिम खेल टियु मैदानमा युएई विरुद्ध यही बिहिवार खेल्नेछ । सो खेलमा जित निकाल्न सके नेपाल विश्वकपको ग्लोबल छनोटमा सोझै प्रवेश गर्नेछ । अन्यथा नेपाललाई नामिवियाले उछिन्ने छ भने नेपालले ग्लोबल छनोटका लागि क्यालिफायर प्लेअफ खेल्नु पर्नेछ । क्वालिफायर प्लेअफ यसै महिना अन्तिममा नामिबियामा हुनेछ ।


नेपाललाई विश्वकप छनोट खेल्ने संघारमा पुर्याउन सोमवार नेपाली बलरहरुले धारिलो र कसिलो बलिङ र व्याट्सम्यानहरुले विष्फोटक व्याटिङ गर्दै पपुवा न्युगिनी विरुद्ध ९ विकेटको जित निकाले ।
जितको लागि ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पुरा गरे । नेपालको जितमा आसिफ शेख २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । आसिफको यो एकदिवसीय करिअरको आठौं अर्धशतक हो । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहे । अर्का ओपनर कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । विकेटको हिसाबमा नेपालले जितेको यो सर्वाधिक ठूलो जित हो । यसअघि २०२० मा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको थियो ।


त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजी ३२ ओभरमा ९५ रनमा अल आउट भएको थियो । नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । सन्दीपको एकदिवसीय क्रिकेटमा यो तेस्रो पटक पाँच विकेट हो । सन्दीपले आफ्नो स्पेलको अन्तिम बलमा सेमो कमियालाई बोल्ड गर्दै पाँच विकेट पुरा गरेका थिए ।
सन्दीपले यसअघि २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए । सन्दीप करण केसीपछि तीन पटक पाँच विकेट लिने दोस्रो नेपाली बलर हुन् ।
नेपालको जितमा ललित नारायण राजवंशीले ७ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले एक विकट लिए ।
बायाँ हाते स्पिनर ललितले चौथो ओभरको चौथो बलमा ओपनर पिएनजीका किप्लिङ डोरिगालाई दुई रनमा बोल्ड गरे । हिरि हिरि सोमपाल कामीको बलमा १४ रनमा क्याच आउट भए ।
नेपाललाई तेस्रो सफलता सन्दीपले दिलाए । सन्दीपले १४ औं ओभरको अन्तिम बलमा सेसे बाउलाई १८ रनमा बोल्ड आउट गरे । सन्दीपले आफ्नो स्पेलको पहिलो ओभरमै विकेट लिएका थिए ।
सन्दीपको २० औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कप्तान असद भाला डिप स्क्वायर लेगमा ललितनारायण राजवंशीबाट २० रनमा क्याच आउट भए । उनले ३१ बलमा २ चौका प्रहार गरे ।
नेपाललाई पाँचौं सफलता ललितनारायण राजवंशीले दिलाए । राइली हेकुरे ललितको बलमा चार रनमा कट एण्ड बोल्ड आउट भए । कुशल मल्लले २७ औं ओभरमा आक्रामक ब्याटर नर्मन भानुवालाई शून्यमा क्याच गराए । सन्दिपले चाल्स अमिनीलाई १७ रनमा पेवेलियन फर्काए भने हिला भारेलाई ७ रनमा बोल्ड गरे ।


अंक तालिका
लिगमा स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकसहित शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३५ खेलमा ५ मा जित र २९ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ ।