युएईविरुद्ध किर्तिमानी जितसँगै नेपालको एकदिवसीय मान्यता सुरक्षित

भक्तपुर, फागुन २८
आइसीसी विश्वकप लिग २ मा संयुक्त अरब इमिरेट्स (युएईं)माथि किर्तिमानी जित निकाल्दै नेपालले एकदिवसीय मान्यता सुरक्षित गरेको छ । आइसीसीको नियमानुसार लिगको पाँचौं स्थानमा रहने टोलीको एकदिवसीय मान्यता सुरक्षित रहने व्यवस्था छ । जितसँगै नेपाल ३६ अंकका साथ लिगको अंक तालिकाको चौंथो स्थानमा पुगेको छ ।
नेपालभन्दा पछि अमेरिका ३५ अंक रहेको छ । उसले लिगका सबै खेल खेलीसकेको छ भने दुई खेल खेल्न बाँकी रहेको युएईको ३१ अंक रहेको छ । नेपालको लक्ष्य अब लिगका बाँकी दुई खेल जित्दै सिधै विश्वकपको ग्लोवल छनोट खेल्ने रहनेछ ।


टियु मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले युएईलाई १ सय ७७ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २२ ओभर ५ बलमा अलआउट हुदै ७१ रन मात्र बनायो ।
एकदिवसीय क्रिकेटमा यो जित नेपालको रनको हिसाबमा सर्वाधिक ठूलो जित हो । यसअघि नेपालले सन् २०२१ मा पपुवा न्युगिनीलाई १५१ रनले पराजित गरेको थियो ।
युएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाए । असओन्था भाल्थापाले १४ कार्तिक मैयप्पनले ११ बनाउँदा युएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि ललित नारायण राजवंशीले ५ विकेट लिए । उनको यो करिअरको उत्कृष्ट प्रदर्शन हो । नेपालबाट पाँच विकेट लिने सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीपछि चौथो बलर बनेका छन् । सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
स्पिनर ललित नारायणले पहिलो ओभरको पाँचौं बलमा वृत्य अरविन्दलाई बोल्ड गर्दै पेभेलिएन फर्काएका थिए । तेस्रो ओभरको चौथो बलमा आर्यन लाक्रालाई शून्यमा दीपेन्द्रसिंह ऐरीले बोल्ड आउट गरे ।


मोहम्मद वासिम ललितको पाँचौं ओभरको चौथो बलमा कुशल भुर्तेलबाट एक रनमा क्याच आउट भए । सोमपाल कामीले आसिफ खानलाई ६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराएपछि युएई ८–४ को दयनीय अवस्थामा पुगेको थियो ।
सन्दीप लामिछानेले १४ औं ओभरको चौथो बलमा रोहन मुस्तफालाई ६ रनमा एलबीडब्लू आउट गरेपछि ३४–५ को संकटमा पुगेको थियो । आयन खान, अश्रन्त वल्थपा १४ र जवार फरिद दुई रनमा आउट भएपछि युएई ६२–८ को अवस्थामा पुगेको थियो ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपालले खराव शुरुवातका बावजुद कप्तान रोहित पौडेलको जिम्मेवारीपूर्ण र किर्तिमानी अर्धशतक मद्दतले ४९ ओभर २ बलमा अलआउट हुदैं २ सय ४८ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहितले १ सय १२ बलमा ७७ रनको अर्धशतकीय ईनिङ खेले । रोहितले ९ चौका प्रहार गरे । रोहितले ८३ बलमा ७ चौकासहित एकदिवसीय क्रिकेटमा आठौं अर्धशतक पुरा गरे । उनी एकदिवसीय क्रिकेटमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन ।


रोहितले ज्ञानेन्द्र मल्ल र आसिफ शेखलाई पछि पारेका हुन् । ज्ञानेन्द्र र आसिफले एकदिवसीयमा ७–७ अर्धशतक प्रहार गरेका छन् । कुशल भुर्तेल, कुशल मल्ल र आरिफ शेखले ४–४ अर्धशतक प्रहार गरेका छन् ।
पावर प्लेमा लगातार तीन विकेट गुमाएपछि नेपाल ब्याटिङमा निकै दबाबमा परेको थियो । चोभार एण्डबाट आएका स्पिनर आर्यन लाक्राले दोस्रो ओभरको पाँचौं बलमा आसिफ शेखलाई शून्यमा बोल्ड गरे ।
पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ८ रनमा एलबीडब्लू आउट भए । स्पिनर आयन अफ्जल खानको बलमा स्विप खेल्ने धुनमा मिस हुँदा कुशल एलबीडब्लू आउट भएका थिए । तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा ठूलो सट खेलेका कुशल मल्ल टप एज लागेर मिडअनमा मोहम्मद वासिमबाट ९ रनमा क्याच आउट भएपछि नेपाल २२–३ को अवस्थामा पुगेको थियो ।


नेपाललाई चौथो विकेटका लागि भीम र रोहितले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । भीम सार्की ३७ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए । दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए ।
एक समय ७६–४ को अवस्थामा पुगेको नेपाललाई आरिफ शेख र रोहित पौडेलले ८६ रनको साझेदारी गरेका थिए । आरिफ शेख ५२ बलमा ५ चौकासहित ४३ रनमा क्याच आउट भए । गुलसन झाले ३२ बलमा ३७ रन बनाए । झाले ३ छक्का र १ चौका प्रहार गरेका थिए ।
युएईका लागि जाहोर फरिद, जाहोर खान, रोहन मुस्ताफा र आयान खानले समान २÷२ तथा आर्यान लाक्रा र जुनेद सिद्धिकीले समान १÷१ विकेट लिए ।