भक्तपुर, माघ २३
भक्तपुर नगरपालिकाको १३ औं नगरसभा सोमवार शुरु भएको छ । सभाको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले उद्घाटन गर्दै समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताउनुभयो । उहाँले निर्वाचनबाट समाजवादी व्यवस्था लागू गर्ने विचार संशोधनवाद हो भन्नुभयो ।
क्रान्तिको वातावरण तयार भएर पनि क्रान्ति नगर्ने दक्षिणपन्थी अवसरवाद र क्रान्तिको वातावरण तयार नहुँदै क्रान्ति गर्ने वामपन्थी अवसरवादबाट मुक्त भई राजनैतिक संघर्षलाई अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपालमा प्रखर प्रतिपक्ष र छायाँ सरकारको व्यवस्था हुने पश्चिमेली संसदीय राजनैतिक प्रणालीमा लागु रहेको चर्चा गर्दै उहाँले हाल नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने चिनियाँ राजनैतिक प्रणालीको अभ्यास गर्नु विरोधाभाषपूर्ण रहेको स्पष्ट पार्नुभयो ।
जनतालाई राजनैतिक रुपले सचेत पार्दै सशस्त्र क्रान्तिमार्फत समाजवादी व्यवस्था लागू गर्न राजनैतिक संघर्ष अगाडि बढाइरहेको नेमकिपालाई संकीर्ण र जडसुत्रवादी आरोप लगाउने राजनीतिक दल र दलका नेताहरु संशोधनवादी र अवसरवादी भएको सैद्धान्तिक व्याख्या अध्यक्ष बिजुक्छेँले गर्नुभयो ।
राजनीतिक दलमा स्वच्छता नभएकोले देश पछि परिरहेको बताउँदै उहाँले पद पाउनकै लागि राजनीति गर्नेहरुले देश र जनताको निःस्वार्थ सेवा गर्न नसक्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरसभा नगरपालिकाको व्यवस्थापिका भएको बताउँदै सभाले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको लागि आवश्यक ऐन कानुन, नीति नियम, निर्देशिका तथा कार्यविधिहरु तयार गर्दै आएको बताउनुभयो ।
स्वायत्तताको नाउँमा स्थानीय तहमाथि संघ र प्रदेशको हस्तक्षेप नै अहिलेको मुख्य समस्या भएको बताउँदै उहाँले संघ र प्रदेश सरकारले स्थानीय तहलाई आफ्नो मातहतको निकाय जस्तो व्यवहार गर्नु स्वायत्तता र संविधानको भावना विपरीत भएको बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, कृषि, विकास निर्माण, सरसफाइलगायतका क्षेत्रमा गरिरहेको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रजापतिले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कल्पना गर्नुभएको १०० वर्षपछिको भक्तपुर दीर्घकालीन उद्देश्य भएको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले नेमकिपाको घोषणापत्रअनुसार देश र जनतामा समर्पित भई काम गरिरहेको चर्चा गर्दै जनप्रतिनिधि र कर्मचारीको अथक प्रयासले नपाले आजको सफलता हासिल गरेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नगरसभाको सफलताको शुभकामना दिँदै अनुशासन, सुशासन, कला संस्कृति संरक्षण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा भक्तपुर उदाहरणीय रहेको बताउनुभयो ।
संविधानले परिकल्पना गरेको संघीयता अभ्यास गर्ने क्रममा भक्तपुरमा सुशासन, शान्ति सुरक्षा कायम गर्न सबैसँग हातेमालो गरी अगाडि बढ्ने बताउँदै उहाँले नगरसभाले आवश्यक ऐन कानुन तर्जुमा गर्न सफलता मिल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विष्णुदत्त पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई सरकारी अस्पताल बनाउन भक्तपुर नपाको विशेष पहल भएको बताउंंदै भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरको सम्पूर्ण उपचार सेवा उपलब्ध भएको बताउनुभयो ।
मेडिकल अन्कोलोजीको अध्ययन अध्यापन पनि भक्तपुर क्यान्सर अस्पतालबाट गराइरहेको जानकारी गराउंदै उहांँले भक्तपुर क्यान्सर अस्पतालले क्यान्सरका बिरामीलाई प्यालेटिभ केयर दिंदै आएको बताउनुभयो ।
ख्वप ईन्जिनियरिड्ड कलेजका प्राचार्य सुजन माकले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्यसहित सञ्चालित ख्वप इ. कलेज र ख्वप कलेज अफ इ.ले सर्वसाधारण जनतालाई कम शुल्कमा गुणस्तरीय इन्जिनियरिन शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।