भारतमाथि शानदार जित निकाल्दै नेपाल यु–२० महिला साफ फुटबलको फाइनल प्रवेश

भक्तपुर, माघ २४
बंगलादेशको राजधानी ढाकामा जारी यु–२० महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ । ढाकाको वीर श्रेष्ठ शाहिद सिपाही मुस्तफा कमाल स्टेडियममा मंगलवार भएको खेलमा नेपाल भारतमाथि ३–१ को शानदार जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।
पहिलो हापमा १–० ले पछि परेको नेपालले दोस्रो हापमा शानदार प्रदर्शन गर्दै ३ गोल फर्काएपछि भारतविरुद्ध ३–१ को जित सम्भव भएको हो । नेपालको जितमा अञ्जली चन्द, कप्तान प्रिति राई र अमिषा कार्कीले गोल गरे । भारतका लागि खेलको पहिलो हापको २० औँ मिनेटमा अपूर्ण नरजारीले गोल गरेका थिए ।


पहिलो हापमा १–० ले पछि परेको अवस्थामा दोस्रो हापको तेस्रो मिनेटमा नेपालकी अञ्जलीले गोल गर्दै खेल बराबरीमा ल्याए । अञ्जलीले भारतीय गोलकिपरको कमजोरीको फाइदा उठाउँदै बराबरी गोल फर्काइन् ।
खेलको ६७ औँ मिनेटमा नेपाल अग्रता लियो । भारतीय खेलाडीले डी–बक्सभित्र नेपाली खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीमा नेपालकी कप्तान प्रीति राईले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन् ।


खेलको ८८ औँ मिनेटमा नेपालकी अमिषा कार्कीले गोल गर्दै नेपालको अग्रता बढाए । खेलमा थप गोल हुन नसकेपछि नेपालले ३–१ को शानदार जित दर्ता गरे ।
जितसँगै चार टोली सम्मिलित प्रतियोगिताको ३ खेलमा २ जितका साथ ६ अंक सहित नेपाल फाइनल प्रवेश गरेको हो । यसअघि पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो । भारतले पहिलो खेलमा भुटानलाई १२–० ले हराएको थियो भने बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।


आजै घरेलु टोली बंगलादेश र भुटानबीच लिगको अन्तिम खेल हुँदैछ । भुटानले खेलेका दुवै खेल हारेर पहिले नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । बंगलादेशको भने नेपालसँगको पहिलो खेलमा पाएको जितबाट ३ अंक र भारतसँग गोलरहीत बराबरीबाट १ अंक बटुलेर जम्मा ४ अंक छ । आजको खेल बराबरीमात्र गरे पनि बंगलादेश फाइनल पुग्नेछ ।