युएसएआइडीका प्रशासक पावरद्धारा आदर्श माविको भवन हस्तान्तरण, विद्यार्थीसँग खेले बास्केटबल

भक्तपुर, माघ २४
दुई दिने नेपाल भ्रमणमा रहनुभएकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले मंगलवार भक्तपुरको मध्यपुर थिमि–२, सानो थिमीस्थित आदर्श माध्यामिक विद्यालयको भ्रमण गर्नुभएको छ ।
डिएमपीएसले समेत परिचित आदर्श माविको निर्माण अमेरिकी सरकारको सहयोगमा भएको थियो । पुरानो र जिर्ण भएका भवनहरुमा २०७२ सालको विनाशकारी भूकम्पले थप क्षती गरेपछि हाल उक्त विद्यालयका भवनहरु युएसएआइडीको आर्थिक सहयोगमा पुर्ननिर्माण भइरहेको छ ।
सोही परियोजना अवलोकनका लागि पावर बिहान करिव ११ बजे आदर्श मावि सानो थिमि आइपुग्नुभएको थियो । उहाँलाई विद्यालयका प्रधानाध्यापक, वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।
विद्यालयमा पावरले विद्यार्थीहरुसँग बास्केटबल खेल्नुका साथै केही समय अन्तरक्रिया गरेको विद्यालयका प्रधानाध्यापक रामबाबु रेग्मीले बताउनुभयो । उहाँले अन्तरक्रियामा विद्यार्थीहरुसँग विद्यालयको पठनपाठन, अतिरिक्त क्रियाकलाप, नेपालको लोकतान्त्रिक पद्धतीका बारेमा जिज्ञासा राख्नुभएको थियो ।


त्यसैगरी पावरले विद्यार्थीहरुलाई भविष्यमा के बन्ने चाहना छ भन्ने प्रश्न गर्दै विद्यालय र विद्यार्थीको राय सुझाब के छ, विद्यालयमा सुधार्नुपर्ने पक्ष के छ र सरकारसँग आफुले राख्नुपर्ने विषय केही छ की भनी जिज्ञासा समेत राख्नुभएको थियो । अन्तरक्रियामा विद्यालयका ८ जना विद्यार्थीहरु सहभागी भएको प्रधानाध्यापक रेग्मीले बताउनुभयो ।
अन्तरक्रिया पछि पत्रकार सम्मेलन गर्दै पावरले विद्यालयका भवनहरु विद्यालयलाई हस्तान्तरण भएको जानकारी दिनुभयो । उहाँले अमेरिकी सरकारले नेपाललाई निरन्तर सहयोग जारी राख्ने र दुई देशबीच आपसी भाइचाराको सम्बन्ध रही रहने प्रतिवद्धता जनाउनुभयो ।

युएसएआइडीको करिव २० करोड रुपैंयाको आर्थिक सहयोगमा आदर्श माविको ४० कोठे भवनको पुनर्निर्माण भएको प्रधानाध्यापक रेग्मीले बताउनुभयो । जसमा ८ नयाँ कोठा, ४ वटा शौचालय, एउटा हललगायत छन ।

पावर युएसएआइडीकी १९औँ प्रशासक हुन । उहाँले सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गर्नुभएको थियो । उहाँले विश्वका अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आउनुभएको छ ।
उहाँ सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र सङ्घका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत थिइन् । प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत थिइन् ।