कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेन – बिजुक्छें

भक्तपुर, माघ २३
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको बताउनुभएको हो ।
रफत सञ्चार क्लब भक्तपुरको १३ औ वार्षिकोत्सवको अवसरमा सोमवार आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेंले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहि नभएको चलन कांग्रेसले ल्याएको बताउनुभएको हो ।
बिजुक्छेँले भन्नुभयो, “प्रमुख प्रतिपक्ष दलले कहिल्यै सरकारलाई समर्थन गर्दैन, प्रमुख प्रतिपक्ष दल त छायाँ सरकारको रुपमा रहेर सरकारको गतिविधीलाई नियाल्नु पर्छ, सरकारका गलत कामलाई खबरदारी गर्ने, रोक्ने काम प्रतिपक्षको हो, सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको हो तर सत्ताको मोहले कांग्रेसले त्यो जिम्मेवारी नै छाडिदियो ।” उहाँले प्रतिपक्ष पनि हुँ भन्ने अनि सत्तामा भागवण्डा पनि खोज्ने कांग्रेसको नीति नै गलत भएको टिप्पणी गर्नुभयो ।


उहाँले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिष्ट नभएको टिप्पणी गर्नुभयो । “कम्युनिष्ट पनि भन्ने कांग्रेस नेतृत्वको सरकारमा पनि जाने त्यस्तो दल कम्युनिष्ट हुन सक्दैन ।” पार्टीको नाम समाजवादी भए पनि कुन समाजवाद ल्याउन खोजेका हुन्, नेता नेपाल प्रष्ट नभएको भन्दै उहाँले अरुलाई आरोप लगाएर गाली गर्ने नेता नेपाल आफैमा ती कुरा लागु भएको बताउनुभयो ।
उहाँले कांग्रेससँग मिल्ने गरी गतिबिधि अगाडि बढाएको भन्दै नेकपा एमालेलाई भाई कांग्रेस भएको आरोप लगाउनुभयो ।
संसदमा सांसदलाई बोल्न नदिनु गलत भएको भन्दै नेमकिपा अध्यक्ष बिजुक्छेले भन्नुभयो, “राप्रपाले हिन्दु राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसदमा सभामुखले रोक्नु गलत हो, संसदमा बोल्न पाउनु पर्छ, चित्त नबुझेका कुरा जवाफ दिने हो, बोल्न रोक्न पाइदैन ।”


कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धन कसरी टिकाउने, राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमति अनुसार कार्यान्वयन गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहाललाई सुझाब दिन्छु भन्दै ज्ञवालीले भन्नुभयो, “कुन र कस्तो कठिन अबस्थामा एमालेले प्रचण्डलाई ल्याएर देशको राजनीतिक नेतृत्व गर्ने गरि सरकारको नेतृत्वमा ल्याएको थियो, त्यो पृष्ठभूमिलाई हेक्का राखेर परिपक्क नेतृत्व गर्नुस् त्यो मेरो सुझाब हो, इतिहासले पटक पटक अबसर दिदैन, यो अबसरलाई देशको हितमा राखेर पुस १० को सहमति पालना हुनुपर्छ, सहमतिबाट दायाँबायाँ गर्ने चेष्टा गर्नुहुदैन ।”


उहाँले नेपाली कांग्रेस सत्ताबाट बाहिर रहदाँको छटपटी पोखिरहेको भन्दै सत्तामा हिस्सेदारी पनि खोज्ने अनि प्रतिपक्षमा रहनु पाउँ पनि भन्ने यो कस्तो छटपटी हो भन्दै प्रश्न गर्नुभयो ।
मन्त्रालयको आकार घटाउने, खर्च कटौती गर्ने, सरकारको न्यूनतम साझा कार्यक्रमलगायतबाट जनतामा अहिलेको सरकारबाट आशा पलाइरहेको बेलामा राष्ट्रपतिको चुनाबलाई लिएर राजनीतिक अस्थिरता निम्त्याउदै राजनीतिक चलखेल बढिरहेको चर्चा गर्दै ज्ञवालीले भन्नुभयो, “देशमा बढ्दो राजनीतिक चलखेल बढेको, बाह्य हस्तक्षेप बढेको छ, यसले नेपाल भू–राजनीतिक द्धन्द्धतर्फ फस्दैछ, यसले लोकतन्त्रनै धरापमा पर्ने खतरा बढेको छ ।”
नेपाली सञ्चारमाध्यमबाट सम्प्रेषित कतिपय समाचारमा विश्वसनीयताको खडेरी लागेको भन्दै उहाँले कतिपय समाचार हेर्दा चाहिने भन्दा बढी पूर्वाग्रह राखेर समाचार सम्प्रेषण गरेको र दोहन गर्ने ढंगले आएकाले त्यस्ता कार्य रोकिनु पर्नेमा जोड दिनुभयो ।
मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठ, कल्पना स्मृति कोषका अध्यक्ष एवं रफत सञ्चार क्लबका संरक्षक प्रेमबहादुर थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायणसुन्दर किलम्बु, महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, रासस भक्तपुरका विशेष समाचारदाता रमेश गिरीलगायतले रफत सञ्चार क्लबले १३ वर्षमा भक्तपुरलाई चिनाउन खेलेका भूमिकामाथि चर्चा गर्नुभयो ।


रफत सञ्चार क्लबका अध्यक्ष सुशिलबन्धु थापाले भक्तपुर सञ्चार क्षेत्रमा निकै पछाडि परेको अवस्थामा सुरु भएको क्लबले राजनीतिक, सामाजिक, साँस्कृतिक बहस, छलफल गर्दै आवाज बिहिनहरुको आवाजलाईसमेत उठान गर्दै आएको बताउनुभयो ।
दुई पत्रकार र एक स्वास्थ्यकर्मीलाई पुरस्कृत
रफत सञ्चार क्लवले १३ औं वार्षिकोत्सवको अवसरमा भक्तपुरका दुई जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ भने सोही अवसरमा एक स्वास्थ्यकर्मी पुरस्कृत भएका छन ।
रफतले राष्ट्रिय समाचार समिति मार्फत लामो समयदेखि पत्रकारिता गर्दै भक्तपुरलाई देशविदेशमा चिनाउन उल्लेख्य भूमिका खेलेको भन्दै राससकर्मी रमेश गिरीलाई नगद ५ हजार ५ सहित रफत क्रियासिल पत्रकारिता पुरस्कार प्रदान गरेको हो । गिरीले प्राप्त नगद पुरस्कार भने कल्पना स्मृति कोषमा रहने गरि कोषका अध्यक्ष थापालाई हस्तान्तरण गर्नुभयो ।
यसैगरी कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार नारायणसुन्दर किलम्बुलाई नगद ५ हजार ५ सय सहित क्रियासिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
कार्यक्रममा ख्वप अस्पताल भक्तपुरमा विरामीहरुको सेवामा अहोरात्र खटिनु भएका हाडजोर्नी विशेषज्ञ डा.मजेश प्रताप मल्ललाई नगद ५ हजार ५ सय सहित कल्पना स्मृति स्वास्थ्य पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
पुरस्कृत तीनै जनालाई नेमकिपा अध्यक्ष बिजुक्छेंले दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गर्नुभयो ।