सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्ष पछि पक्राउ

भक्तपुर, माघ ११
सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्ष पछि पक्राउ परेका छन । वि. सं. २०७० जेठ २ गते भक्तपुर मध्यपुर थिमि साविक वडा नं. १५ चारदोवाटोमा मोटरसाइकललाई ठक्कर दिई फरार भएका एम्बुलेन्स चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं.१ बस्ने वर्ष ४२ को ईम बहादुर कार्कीलाई भक्तपुर प्रहरीले मंगलवार पक्राउ गरेको हो ।
कार्की ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को बा ३ च ५३७५ नम्बरको एम्बुलेन्स चालक थिए । उनले चलाएको एम्बुलेन्सले बा ४० प ५०७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक शिव शरण रेग्मी घाईते भई उपचारको लागी ऊँ अस्पताल चाबहिलमा लगिएकोमा उपचारको क्रममा २०७० जेठ २७ गते मृत्यु भएको थियो ।
घाईते रेग्मीको मृत्यु भएपछि कार्की फरार भएका थिए । उनको खोजतलासको क्रममा प्रहरीले काठमाण्डौंको कपनबाट पक्राउ गरिएको भक्तपुर प्रहरी प्रमुख एसपी प्रजित केसीले जानकारी दिनुभयो । पक्राउ परेका कार्कीलाई प्रहरी वृत्त थिमिमा राखी थप कारवाहीका लागि अनुसन्धान भइरहेको एसपी केसीले बताउनुभयो ।