बिदाईमा भावुक बने प्रजिअ शर्मा

भक्तपुर, माघ १०
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा मंगलवार बिदाई हुनुभएको छ । भक्तपुरको प्रजिअको जिम्मेवारी १६ महिना १० दिन सम्हालेर गृह मन्त्रालयमा सरुवा हुनुभएका प्रजिअ शर्माले मंगलवार जिल्लास्थित सरकारी कार्यालय प्रमुख र विभिन्न संघ संस्थासँग औपचारिक बिदा लिनुभएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले प्रजिअ शर्माको १६ महिने कार्यकालको मुल्यांकन गर्दै कार्यकाल सफल भएको टिप्पणी गर्नुभयो । प्रजिअ शर्मा जिम्मेवारीमा आउनुभएको केही समयपछि नै कोभिडको दोस्रो लहर चरम अवस्थामा पुगेको र विपतको त्यो घडीमा क्षती न्यूनिकरणका लागि कुशलता पूर्वक व्यवस्थापन गरेको बताउँदैं अध्यक्ष प्रजापतिले कोभिडको महामारीमा अक्सिजन, शब, खोपको व्यवस्थापन, बन्दाबन्दीको उचित व्यवस्थापन गरी सर्वसाधारण नागरिकको दैनिकी सहज र सरल बनाउन उत्तिकै उत्कृष्ट कार्य गरेको उल्लेख गर्नुभयो ।


प्रजिअ शर्माले गत बैशाखमा सम्पन्न स्थानीय तह र गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वच्छ वातावरणमा सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेल्दै मतदान केन्द्र व्यवस्थापन, स्थानान्तरणको वर्षौदेखीको समस्या समेत प्रजिअ शर्माले समाधान गरेको बताउनुभयो ।
त्यस्तै नागरिक अगुवा, नागरिक संघ संस्थासँग नियमित सहकार्य, समन्वय गरी सार्वजनिक सेवालाई सहज, सरल र छिटो छरिटो बनाउन सक्रिय भएको, बजार अनुगमनलाई परिणाममुखी बनाएको, सार्वजनिक यातायात, सडक पुर्वाधारको सुधारमा पनि सक्रिय रहनुभएको र अशक्त, अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता उपलब्ध गराएर त्यस्ता नागरिकलाई सरकारको अनुभुती दिलाएको भन्दै प्रजापतिले प्रजिअ शर्माको कार्यको उच्च मूल्यांकन गर्नुभयो ।


कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुँछेरत्न मानन्धरले प्रजिअ शर्माको कार्यकालमा निरन्तर सहकार्य गर्ने मौका मिलेको बताउँदैं व्यवसायिक संघ संस्थालाई सामाजिक उत्तरदायित्व बहन गर्नमा उत्प्रेरणा मिलेको बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धरले प्रजिअ शर्माको कार्यकालमा व्यवसायलाई स्वच्छ बनाई उपभोक्ता अधिकार स्थापित गर्न, व्यवसायीले पालना गर्नुपर्ने शतसहितको आचारसंहिता निर्माण लगायतका कार्य गर्न सफल भएको बताउनुभयो ।


सो अवसरमा भावुक बन्दै प्रजिअ शर्माले भक्तपुर बसाईका क्रममा कर्मचारी, कार्यालय प्रमुख, उद्योग व्यवसायी, नीजि क्षेत्र, नागरिक अगुवा संघसंस्था, सुरक्षा निकाय, पत्रकार महासंघ र सञ्चारकर्मीहरुले सदैव सकारात्मक साथ सहयोग गरेको बताउनुभयो ।
उहाँले एकल व्यक्तिको चाहनाले मात्र उपलब्धी हासिल गर्न नसक्ने बताउँदैं भक्तपुरमा शान्ति सुरक्षाको सुव्यवस्था कायम राख्न, यहाँको सार्वजनिक सेवालाई सरल सहज बनाउन, निर्वाचनलाई सम्पन्न गर्न र कोभिड, डेंगो जस्ता विपतका बेला समेत सबैको सहयोगले मात्र सफलता मिलेको उल्लेख गर्नुभयो ।


सो अवसरमा प्रजिअ शर्माले नेपाल पत्रकार महासंघ, भक्तपुर उद्योग वाणिज्य संघ, भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर साना तथा घरेलु उद्योग संघ, जिल्ला सुरक्षा समितिका सदस्यहरु भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रजित केसी, सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावल, इन्द्र बक्स गण सुर्यविनायकका गणपति श्यामराजा थापा, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुर प्रमुख प्रकाश आचार्य, जिल्ला निर्वाचन अधिकारी नरेन्द्र प्रसाद न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।