एकै बलमा १६ रनको किर्तिमान

भक्तपुर, माघ ११
क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ । क्रिकेटमा जे पनि सम्भव हुन्छ । हुन पनि क्रिकेटको इतिहास हेर्ने हो भने अनेकौं किर्तिमान बनेका छन । कुनै उत्कृष्ट खेलेर विश्व किर्तिमान बनेको छ भने कुनै खराब खेलेर पनि किर्तिमान बनेका छन ।
यस्तै एउटा दुर्लभ किर्तिमान बनेको छ, अस्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट प्रतियोगितामा । सिड्नी सिक्सर्सबाट खेलिरहेका स्टिभ स्मिथले एक बलमा १६ रन बनाएर दुर्लभ किर्तिमान बनाएका हुन ।
होबार्टमा भएको खेलमा यो दुर्लभ कीर्तिमान बनेको हो । होबार्ट हरिकेन्सका जोएल पेरिसको बलमा स्मिथले यो कीर्तिमान बनाएका हुन् ।
पेरिस खेलको दोस्रो ओभर बलिङ गर्न आएका थिए । क्रिजमा थिए स्टिभ स्मिथ । स्मिथले पेरिसको पहिलो दुई बलमा कुनै रन बनाउन सकेनन् । पेरिसको तेस्रो बलमा भने स्मिथले छक्का प्रहार गरे । तर अम्पायरले उक्त बललाई नो–बल दिए । बलिङ गर्दै गर्दा पेरिसको खुट्टा क्रिजबाट बाहिर रहेको अम्पायरले देखेकाले नो–बल दिएका हुन । उक्त बल नो–बल भएपछि स्मिथको नाममा ७ रन बन्यो ।
क्रिकेटको नियम अनुसार स्मिथले फ्रि हिट पाए । तर पेरिसले बल वाइड फाले । उक्त बल विकेटकिपरले समात्न सकेनन् र बल बाउन्ड्री पार पुगेर पाँच रन बन्यो । बल वाइड भएपछि स्मिथको फ्रि हिट बाँकी नै रह्यो । फ्रि हिटमा स्मिथले थप चार रन जोडे र एकै बलमा १६ रन बनाएको दुर्लभ किर्तिमान बनाए ।
उक्त खेलमा स्मिथले ३३ बलमा चार चौका र छ छक्काको मद्दतमा ६६ रन बनाएका थिए ।