मेस्सी चम्किँदा विश्वकपमा अर्जेन्टिनाको पहिलो जित

भक्तपुर, मंसिर ११
दोस्रो हापमा लियोनल मेस्सी र एन्जो फर्नान्डेजले गोल गरेपछि कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा उपाधि दावेदार अर्जेन्टिनाले पहिलो जित निकालेको छ । गएराती लुसेल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० को जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुलेको हो ।
पहिलो खेलमा एसियाली मुलुक साउदी अरेवियासँग अप्रत्याशित हार व्यहोरेको अजेन्टिनालाई दोस्रो चरणमा प्रवेशको आशा कायम राख्न खेल जित्नै पर्ने अवस्था थियो । यस्तोमा पहिलो हापमा अर्जेन्टिनाले सोचेजस्तो प्रदर्शन गर्न नसक्दा गोलरहित बराबरीका सकियो ।
दोस्रो हापमा थप आक्रमक भएको अर्जेन्टिनाले ६४ औं मिनेटमा मेस्सीको गोलले अग्रता लिए । एन्जल डि मारियाको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट मेस्सीले गरेको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । गोलरक्षक गोलेर्मे ओचोआले सहि दिशामा डाइभ दिएपनि उनी बलसम्म पुग्न सकेनन् ।


अर्जेन्टिनाले दोस्रो गोल खेलको ८७ औं मिनेटमा गर्यो । पहिलो हापमा बेन्चमा रहेका फर्नान्डेजको गोलले अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको हो । फर्नान्डेजले मेस्सीको पासमा गोल गरेको हो । उनले पेनाल्टी क्षेत्रभित्र डिफेन्डरलाई छक्याएर गरेको प्रहारलाई गोलरक्षक ओचोआले बचाउने कुनै अवसर पाएनन् ।
जितसँगै अर्जेन्टिना समूह सी मा ३ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । पहिलो स्थानमा पोल्यान्ड रहेको छ । उसको ४ अंक रहेको छ । पोल्याण्डले गएराती नै सम्पन्न खेलमा साउदी अरेबियालाई २–० ले पराजित गर्दै समूहको पहिलो स्थानमा उक्लेको हो ।
समूहमा साउदी अरेबियाको पनि ३ अंक रहेको छ । गोल अन्तरमा साउदी तेस्रो स्थानमा रहेको छ । एक अंक जोडेको मेक्सिको चौंथो स्थानमा रहेको छ ।