फ्रान्स डेनमार्कलाई पराजित गर्दै कतार विश्वकपको नकआउट चरणका प्रवेश

भक्तपुर, मंसिर ११
साविक विजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । गएराती सम्पन्न खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स समूह चरणको अन्तिम खेल अगावै दोस्रो चरणमा स्थान पक्का गरेको हो ।
कतारमा फरवार्ड किलीयन एमबाप्पे चम्कँदा समूह डी को खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले पराजित गरे । खेलमा दुवै टोली आक्रामक रुपमा प्रस्तुत भएपनि पहिलो हाप गोलरहित बराबरीमा सकियो । डेनमार्कका कप्तान तथा गोलरक्षक कास्पर स्माइकलले फ्रान्सको आक्रमणलाई विफल पारेका थिए ।
खेलको ६१ औं मिनेटमा एमबाप्पेले फ्रान्सलाई अग्रता दिलाए । उनले थिओ हर्नान्डेजसँग दायाँ विंगमा सुन्दर वन टु पास खेल्दै अवसर सिर्जना गरेका थिए । अन्त्यमा हर्नान्डेजकै कटब्याकमा एमबाप्पेको प्रहार डिफेन्डरलाई लाग्दै गोल भएको थियो ।


लगत्तै ६८ औं मिनेटमा डेनमार्कले बराबरी गोल फर्कायो । आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत गोल गरेका थिए । क्रिस्टियन एरिक्सनको कर्नरमा जोअचिम एन्डरसनले बलको दिशा परिवर्तन गरेपछि क्रिस्टेन्सनले ६ यार्ड बक्स नजिकबाट हेडर गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेल बराबरीतर्फ लम्किँदा एमबाप्पे फेरी चम्किए । खेल सकिन ४ मिनेट बाँकी रहँदा एन्टोइन ग्रिजमनको क्रसमा एमबाप्पेले फार पोस्टमा आफ्नो शरीरले गोल गर्दै फ्रान्सलाई पुनः अग्रता दिलाउँदैं जित दिलाए ।
जितसँगै समूह डी मा फ्रान्सको ६ अंक भएको छ र नकआउट चरणमा स्थान पक्का गर्यो । अष्ट्रेलियाको ३ तथा डेनमार्क र ट्युनिसियाको १–१ अंक छ । अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया र डेनमार्कले अष्ट्रेलियासँग खेल्नेछ ।
यसैबीच फ्रान्स विश्वकपको दोस्रो चरणमा प्रवेश गरेसँगै साविक विजेता समूह चरणबाटै बाहिरिने क्रम भंग भएको छ । सन् १९९८ मा फिफा विश्वकप उपाधि जितेको फ्रान्स सन् २००२ मा समूह चरणमै बाहिरिएसँगै यो श्रृंखला चलेको थियो । यसपटक फ्रान्स आफैंले यो श्रृंखला भंग गरेको हो ।
सन् २००२ मा फ्रान्स समूह चरणको पुछारमा रहेर बारिएको थियो । फ्रान्स त्यसबेला पहिलो खेलमा सेनेगलसँग १–० को हारेको थियो भने खेलमा उरुग्वेसँग गोलरहित बराबरी र तेस्रो खेलमा डेनमार्कसँग २–० ले पराजित हुँदै समूह चरणबाट बिदा भएको थियो ।

सन् २००२ को विजेता ब्राजिलले सन् २००६ मा समूह चरण पार गरेपनि अन्तिम १६ बाट अघि बढ्न सकेन । ब्राजिल फ्रान्ससँग १–० ले पराजित हुँदै बाहिरिएको थियो् । सन् २००६ को विजेता इटाली भने सन् २०१० मा समूह चरणको पुछारमा अड्किएर बाहिरियो । पहिलो खेलमा पाराग्वेसँग १–१, दोस्रो खेलमा न्युजिल्यान्डसँग पनि १–१ को बराबरी खेलेको इटाली अन्तिम खेलमा स्लोभाकियासँग ३–२ ले पराजित हुँदैं समूह चरणबाट बारिएको थियो ।
सन् २०१० को उपाधि जितेको स्पेनले सन् २०१४ मा समूह चरण पार गर्न सकेन । पहिलो खेलमै नेदरल्यान्ड्ससँग ५–१, दोस्रो खेलमा चिलीसँग २–० ले पराजित भएको स्पेन अन्तिम खेलमा अष्ट्रेलियालाई ३–० ले पराजित गर्दै समूह चरणबाट बाहिरिएको थियो ।
सन् २०१८ मा साविक विजेता जर्मनीको पनि उस्तै हालत भयो । जर्मनी समूहको पुछारमा रहेर बाहिरियो । मेक्सिकोसँग १–० को हार बेहोरेको जर्मनी दोस्रो खेलमा स्विडेन विरुद्ध २–१ को जित निकालेपनि अन्तिम खेलमा दक्षिण कोरियाले २–० ले हराएपछि जर्मनीको यात्रा समूह चरणमा सिमित भएको थियो ।