भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो, रास्वपा चौंथो

भक्तपुर, मंसिर १०
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो दल बनेको छ । त्यसैगरी नेकपा एमाले दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो शक्ति बनेका छन ।
प्रतिनिधि सभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं. क्षेत्रबाट ३२ हजार ९०४ र २ नंम्वर क्षेत्र बाट ७ हजार ८६३ मत प्राप्त गर्दै कुल ४० हजार ७६७ मतका साथ पहिलो दल बनेको हो । नेमकिपाले क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा १ (२)को सदस्यमा विजय हासिल गरेको थियो ।
यस्तै प्रदेश सभामा एक सदस्य मात्र जितेको नेकपा एमालेले समानुपातिक तर्फ २६ हजार ७० मत प्राप्त गरी जिल्लामा दोस्रो ठूलो दल बनेको छ । एमालेले क्षेत्र नं. १ बाट ८ हजार १९४ र क्षेत्र नं. २ बाट १७ हजार ८७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताउनुभयो ।
त्यसैगरी नेपाली कांग्रेसले २३ हजार ७६९ र रास्वपाले २३ हजार ६ मत ल्याई क्रमशः तेस्रो र चौंथो दल बनेको छ । कांग्रेसले क्षेत्र नं. १ बाट ८ हजार ८७५ र क्षेत्र नं. २ बाट १४ हजार ८९४ मत प्राप्त गरेको बिसीले जानकारी दिनुभयो । रास्वपाले क्षेत्र नं. १ बाट ११ हजार ११० र क्षेत्र नं. २ बाट ११ हजार ८९६ मत प्राप्त गरेको छ ।
यस्तै राप्रपा ११ हजार ३९२ मतका साथ पाँचौं ठूलो दल बने । उसले क्षेत्र नं. १ बाट ५ हजार ९०३ र क्षेत्र नं. २ बाट ५ हजार ४८९ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले क्षेत्र नं. १ बाट एक हजार ३६७ र क्षेत्र नं. २ बाट ५ हजार ४८९ सहित कुल ४ हजार ९८ मत प्राप्त गरी छैंटौं दल बनेको छ भने नेकपा एकिकृत समाजवादीले कुल २ हजार १५२ मत प्राप्त गरे ।