नेदरल्यान्ड्स र इक्वेडरले १–१ गोलको बराबरी खेलेपछि कतार प्रतियोगिताबाट बाहिरियो

भक्तपुर, मंसिर १०
आयोजक कतार फिफा विश्वकप फुटबल २०२२ को समूह चरणको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । कतारमा जारी समूह ए को अर्को खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १–१ गोलको बराबरी खेलेपछि कतार प्रतियोगिताबाट बाहिरिएको हो । कतार जारी विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो राष्ट्र समेत बनेको छ ।
कतार उद्घाटन खेलमा इक्वेडरसँग १–२ र समूह चरणको दोस्रो खेलमा सेनेगलसँग १–३ ले पराजित भएको थियो । यस समूहमा नेदरल्यान्ड्स ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । इक्वेडर ४ अंक जोडेर दोस्रो तथा सेनेगल ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । कतारले २ खेलमा दुई हार व्यहोर्दै अंक जोड्न सकेको छैन । एक खेल खेल्न बाँकी रहदा कतार समूहको पुछारमा रहेको छ ।
यससँगै विश्वकप ईतिहासमा पहिलो खेलमा पराजयको किर्तिमान बनाएको कतारले आयोजक राष्ट्रको रूपमा सबैभन्दा चाँडै प्रतियोगिताबाट बाहिरिने कीर्तिमान समेत बनाएको छ । यसअघि सन् २०१० मा दक्षिण अफ्रिका पनि समूह चरणबाटै बाहिरिएको थियो तर समूह चरणको अन्तिम तेस्रो खेलसम्म अफ्रिकाको चुनौती बाँकी थियो ।